नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टी प्रवेश गर्ने नेताहरूलाई उचित जिम्मेवारी दिइने बताएका छन्।
ललितपुर, च्यालसस्थित एमाले केन्द्रीय कार्यालयमा ‘घर फर्क अभियान’का सन्दर्भमा आयोजित भेटघाट कार्यक्रममा उनले विभिन्न कारणले पार्टीबाहिर रहेर फर्किने नेता, कार्यकर्ता कसैले पनि जिम्मेवारीविहीन हुनु नपर्ने बताएका हुन्।
महासचिव पोखरेलले पार्टी छोड्दाको अवस्थामा जसको हैसियत जहाँ, जस्तो थियो, त्यो भन्दा तलको व्यवहार नहुने बताए।
‘कसलाई कहाँ र के जिम्मेवारी दिने भन्नेबारेमा पार्टीमा छलफल गरेर महाधिवेशन अगाडि नै टुङ्गो लगाइने छ,’ उनले भने, ‘विगतको जिम्मेवारी हेरेर कसलाई के जिम्मेवारी दिन उपयुक्त हुन्छ भन्नेबारे छलफल गछौँ।’
पार्टीले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा प्रतिनिधि, महाधिवेशन आयोजक कमिटी, विभिन्न विषयगत समिति, उपसमितिमा जिम्मेवारी दिने तयारी गरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए। रासस
Shares

प्रतिक्रिया