नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको अधिवेशनका सम्बन्धी बहसमा पार्टीका सबै साथीहरूलाई सक्रियतापूर्व सहभागी हुन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमा भिडिओ सन्देश जारी गर्दै नेता उनले पार्टी भित्र र बाहिरका नौजवानहरुलाई कांग्रस सुधार गर्ने यात्रामा सहभागी हुन आग्रह गरेका हुन्।
देशप्रतिको जिम्मेवारी वोध, अहिलेको अवस्थाप्रतिको चिन्ता र चिन्तनको कारण अहिले जारी केन्द्रीय समिति बैठकमा पार्टी अधिवेशनको विषय प्रवेश गराएको उनको तर्क छ।
साढे १४ मिनेट लामो भिडिओ सन्देशमा थापाले भनेका छन्, ‘कांग्रेस पार्टीको अधिवेशनको बहसमा पार्टीका सबै साथीहरूलाई सक्रिय सहभागिताको लागि आग्रह गर्दछु। तपाईंहरूको साथ अपरिहार्य छ। साथै, अन्य नौजवान साथीहरूलाई पनि अनुरोध गर्दछु, कांग्रेससँग प्रत्यक्ष सम्बन्ध नभए पनि यसको सुधारको यात्रामा तपाईंहरूको समर्थनले नयाँ ऊर्जा र बल प्रदान गर्नेछ।’
उनले विशेष गरी युवालाई लक्षित गर्दै कांग्रेस पार्टीको आन्तरिक सुधार र पुनर्गठनका लागि युवा पुस्ताको सक्रिय समर्थन खोजेका छन्।
भदौ २३ गते सबै नागरिकले भ्रष्टाचार, नातावाद कृपावाद, असक्षमता, कुशासनका विरुद्धमा व्यापक असन्तुष्टि पोखेको भन्दै उनले यी सबै असन्तुष्टिको एउटा कारण कांग्रेस पनि भएको बताएका छन्।
भदौ २३ र २४ गतेको आन्दोलन पहिलोपटक कांग्रेसको विरुद्धमा लक्षित भएको भएको भन्दै थापाले युवाहरूले गरेको खबरदारीलाई विर्सेर अघि बढ्न नसकिने स्पष्ट पारेका छन्।
‘भदौ २३ गतेसम्म कांग्रेस संसद्को पहिलो पार्टी थियो। हामी सत्ता पक्ष थियौँ। आज हामी न सत्ता पक्ष छौँ, न प्रतिपक्ष। हामी सडकमा आइपुगेका छौँ। हाम्रो प्रासंगितकतामाथि प्रश्न उठेको छ,’ उनले भनेका छन्, ‘हामीलाई निष्ठा होइन भ्रष्टाचारसँग, आदर्श होइन अवसरवादसँग जोडेर हेरिरहेका छन्। यो बेलामा हामी कहाँ चुक्यौँ, कसरी चुक्यौँ के नगर्नु पर्ने गर्याैँ, के गर्नुपर्ने पनि गरेनौँ एकपटक हामीले समीक्षा गर्नुपर्दैन?’
थापाको भिडिओ सन्देश
Shares

प्रतिक्रिया