नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अब नेतृत्वलाई एउटै पदमा बाँधिराख्ने पुरानो प्रणाली परिवर्तन गर्नुपर्ने बताएका छन्।
बुधबार काठमाडौँमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ‘नेतृत्वलाई एउटै पदमा, एकै किसिमले राखिराख्न जरुरी छैन। नेतृत्वलाई स्थापित गर्ने वा भूमिकालाई अन्य धेरै तरिकाले पनि अगाडि बढाउन सकिन्छ।’
प्रचण्डले पार्टीको आगामी महाधिवेशनमा नयाँ नेतृत्व प्रणालीबारे गम्भीर छलफल हुने बताउँदै थपे, ‘हामी जनयुद्धमै थियौँ। त्यो उत्कर्षतिर जाँदै थियो। रोल्पामा हामी एउटा बैठकमा थियौँ। मैले कम्युनिस्ट पार्टीमा नेतृत्व नमर्दासम्म या बुढो भएर ओछ्यान नपर्दासम्म नेतृत्वमा बसिराख्ने प्रणाली ठिक छैन भन्ने दस्ताबेज मैले प्रस्तुत गरेको थिएँ। मलाई लाग्छ यो समय अब आएको छ।’
प्रचण्डले सह-संयोजक माधवकुमार नेपालसँग पनि यस विषयमा सहमति रहेको उल्लेख गर्दै भने, ‘अहिले माधवजी र म एउटा के सैद्धान्तिक मान्यतामा छौँ भने हामी यही पदमा बसिराख्नुपर्छ भन्ने छैन। हामीले एउटा विचारको विकास गरौँ। एउटा विधि, प्रणालीको बिकास गरौँ। र, इतिहासमा महत्वपूर्ण भूमिका खेलेका नेताहरुलाई सम्मान गर्ने विधि बनायो भने हामीले फेरि नयाँ तरिकाले जान सकिन्छ।’
Shares

प्रतिक्रिया