नियमित महाधिवेशनको समय सार्वजनिक गर्न माग गर्दै युवा कार्यकर्ताले सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयको मूल गेटमा लगाएको ताला खुलेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको उपस्थितिमा युवाहरू मंगलबार ताला खोल्न तयार भएका हुन्।
नेविसंघ पूर्वकेन्द्रीय कोषाध्यक्ष शिव रिमाल, तरुण नेता सुवन गिरी, विधार्थी नेताहरू प्रेमिका रानामर, भुवन भट्ट, धरणम साही, मनीष रायमाझी, एनजोर कार्की, पुजन गन्धर्व, विक्रमादित्य सिंहगिरी, जगजजंग विष्ट, विनोद शाहीलगायतको अगुवाइमा ३ बुँदे मागसहित युवा विद्यार्थीले प्रदर्शन गरी मुख्य गेटमा तालाबन्दी गरेका हुन्।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक ललितपुरको धोविघाटस्थित एक होटलमा बसेको बैठकले केन्द्रिय समिति बैठक १८गते सम्मलाई स्थगित गरेपछि युवाहरुको नियमित महाधिवशन र युवाहरुको सुनिश्चितता, नियमित महाधिवेशन गर्न नसके वर्तमान केन्द्रीय समिति विघटन, ४०वर्ष मुनिका ४०प्रतिशत युवाहरुको पार्टीभित्र वडादेखि केन्द्रसम्म, हरेक तहको निर्वाचनमा प्रतिनिधित्व सुनिश्चित हुनुनपर्ने मागहरू राखेर कांग्रेसलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै तालाबन्दी गरेका थिए।
आजै केन्द्रीय समिति बैठक पनि बस्दैछ। केन्द्रीय समिति बैठकबाट युवाहरूको माग सम्बोधन हुने प्रतिबद्धता खड्काले गरेपछि युवाहरू ताला खोल्न तयार भएका थिए।
यस्तो छ खड्काको प्रतिबद्धता
१. १५ औँ महाधिवेशनको मिति तोक्ने: नेपाली कांग्रेसको चालू केन्द्रीय समितिको बैठकले पार्टीको १५ औँ महाधिवेशनको मिति तोक्ने।
२. क्रियाशील सदस्यताको विवरण सार्वजनिक: विगत चार वर्षभित्र क्रियाशील सदस्यता नवीकरणको प्रगति विवरण सार्वजनिक गरी नेपाली कांग्रेसको वेबसाइटमा राख्ने।
३. युवाको माग सम्बोधन: ४० वर्ष मुनिका ४० प्रतिशत युवा सहभागिताको माग सुनिश्चितताका लागि केन्द्रीय समितिको विधानमा परिमार्जन आवश्यक भएकोले बृहत्तर नेपाली कांग्रेस पार्टीको विधानमा छलफल गरी माग सम्बोधन गर्न प्रतिबद्धता जनाउने।
Shares

प्रतिक्रिया