पार्टीको १५ औं महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न नसकेपछि नेपाली कांग्रेसका संस्थापन पक्षीय नेताहरू अलग्गै छलफलमा जुटेका छन्।
नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्याङ्क्वेटमा भएको उक्त छलफलमा केन्द्रीय सदस्यहरूले पार्टीको आन्तरिक जीवनलाई बलियो बनाउनको लागि महाधिवेशनको मिति तोकेर अगाडि बढ्नुपर्ने कुरामा जोड दिएका छन्। पार्टीको इतर पक्षले मङ्सिरभित्रै नियमित महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान राखेका छ भने संस्थापन पक्ष निर्वाचनपछि मात्र अधिवेशन धकेल्ने पक्षमा देखिएको छ।
छलफलमा तत्काल पार्टीलाई निर्वाचनको तयारीमा केन्द्रित गर्दै सँगसँगै महाधिवेशनको तयारी कसरी अगाडि बढाउने भन्ने विषयमा भइरहेको छलफलमा सहभागि पार्टी केन्द्रीय सदस्य गुरु बरालले बताए। उनले पार्टीको आन्तरिक जीवनलाई बलियो बनाउने गरी महाधिवेशनको मिति तोकिनुपर्ने पनि बताए।
नेता बरालले महाधिवेशन र चुनावको तयारी सँगसँगै कसरी गरेर जाने भन्ने विषयमा छलफल भइरहेको बताए।
उनले पछिल्लो समय पार्टी एकदुई जना नेताको बन्धक बनेको भन्दै छलफलबाट केन्द्रीय समितिमा नयाँ प्रस्ताव लैजाने तयारी भइरहेको पनि बताए।
उनले भने, ‘हामी निर्वाचनलाई नकार्न सक्दैनौं, हामी निर्वाचनमा भाग लिन्छौं। निर्वाचन र महाधिवेशनको तयारी सँगसँगै कसरी हुनसक्छ? यो पनि अहम् प्रश्न छ। त्यसकारण पार्टीको १५औं महाधिवेशनको तिथिमित र चुनावको तयारी सँगसँगै कसरी जाने भन्ने विषयमा हामी साथिहरूसँग परामर्श गरिरहेका छौं। पार्टी कार्यसम्पदान समिति अल्मलिएको छ। पार्टी लामो समयदेखि दुई तीन नेताको बन्धक बनेको छ। त्यसकारण हामी आजको छलफलबाट नयाँ प्रस्ताव लिएर जाँदैछौं।’
महाधिवेशनको कार्यतालिकामा सहमति जुट्न नसक्दा पार्टीको केन्द्रीय समिति बैठक बस्न सकिरहेको छैन। अर्को बैठक मंगलबार दिउँसो १ बजेको लागि बोलाइएको छ।
Shares

प्रतिक्रिया