राजनीति


एकीकृत समाजवादी फुट्यो, माओवादीसँग एकता नगर्ने पक्षले छुट्टै भेला गर्ने

एकीकृत समाजवादी फुट्यो, माओवादीसँग एकता नगर्ने पक्षले छुट्टै भेला गर्ने

नेपालखबर
कात्तिक १४, २०८२ शुक्रबार २०:३२, काठमाडौँ

नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषयले एकीकृत समाजवादीमा फुट भएको छ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेपछि असन्तुष्ट पक्षका नेताहरूले छुट्टै भेला राख्ने भएका छन्।

शुक्रबार सकिएको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठकले माओवादी केन्द्रसँगको एकता गर्ने सर्वसम्मत निर्णय गरेको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए। 

तर, सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाक्री र विजय पौडेल, जीवनराम श्रेष्ठ, लक्ष्मण लम्साल, दामोदर अर्याल, अशोक घिमिरे, अकिल हुसेन खान, हरि पराजुली लगायतका नेता एकताको विपक्षमा उभिए।

समाजवादीको ४१९ जनाको केन्द्रीय कमिटी छ। 

एकताको विषयमै निर्णय गर्न कात्तिक १२ देखि केन्द्रीय कमिटीको बैठक बसेको थियो। 

तर, बैठकमा बहुमत बढी नेता एकताको पक्षमा उभिएपछि सर्वसम्मत निर्णय गरेको उपाध्यक्ष खतिवडाले दाबी गरे।

‘एकताको विषयमा निर्णय सुनाउँदा कोही पनि विरोधमा बोल्नुभएन,’ उनले भने, ‘कसैले नोट अफ डिसेन्ट पनि लेख्नुभएन।’

यद्यपि, बैठकमा बोल्ने केही नेताहरूले तत्काल एकता नगर्न नेतृत्वलाई सुझाव दिएका थिए। 

त्यसको सुनुवाई नभएपछि एकतामा नजानेहरूको छुट्टै भेला राख्ने बागमती प्रदेश सांसद लक्ष्मण लम्सालले बताए। 

‘हामी केही दिनमा यसबारे स्पष्ट धारणा बाहिर ल्याउँछौँ,’ उनले भने, ‘पहिला असन्तुष्टहरू बस्छौँ। अहिले सबै साथीहरू हिँडिसक्नुभएको छ। भोलिबाट छलफल हुन्छ। अहिलेसम्म खुलेर बोल्नुभएको छैन। सबैलाई परिपक्क बनाएर एउटा दृष्टिकोण बनाउँछौँ र निर्णय घोषणा गर्छाेँ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad