नेकपा एमालेबाहेक अन्य सबै राजनीतिक दलले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन तयार रहेको बताएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बुधबार राजनीतिक दल, जेनजी प्रतिनिधि र सरकारबीच भएको त्रिपक्षीय वार्तामा उनीहरूले चुनावमा सहभागी हुने धारणा राखेका हुन्।
प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बुधबार अपराह्नदेखि राति ९ बजेसम्म पाँच घण्टा चलेको बैठकमा प्रधानमन्त्री कार्कीले चुनावको विकल्प नभएकाले सबै पक्षलाई सहयोग गर्न अपिल गरिन्।
त्यसपछि जेनजीका प्रतिनिधिलाई कुरा राख्न समय दिइएको थियो। जेनजीका तर्फबाट १६ जनाले धारणा राखेका थिए। त्यस क्रममा मिराज ढुंगानाबाहेक सबै जेनजी प्रतिनिधि चुनावकै पक्षमा देखिए।
‘निष्पक्ष चुनाव हुनुपर्छ। सबै पार्टी जानुपर्छ। प्रतिनिधि सभा पुनर्स्थापनाको कुरा अहिले गर्न मिल्दैन, कतिपय प्रमुख नेताले अहिलेसम्म किन नछोड्या हो भनेर पनि कुरा उठाए। धेरैजसोले उपलब्धिहरूलाई खोस्न पाइँदैन, हामी संविधानविरुद्ध जाने होइन, जे गर्नुछ, चुनाव पछाडि गर्ने हो,’ जेनजी प्रतिनिधिले भने, ‘तर पार्टीहरूमा शुद्धीकरण हुनपर्यो भ्रष्टाचारीहरूलाई कारबाही हुनपर्यो। दमन गर्नेलाई कारबाही गर्नपर्यो, चुनाव जसरी पनि हुनुपर्छ।’
मिराज ढुंगानाले भने पहिला प्रत्यक्ष निर्वाचित कार्यकारीको प्रावधान राख्नुपर्ने अडान लिए।
त्यसपछि दलका नेता बोलेका थिए।
एमालेका नेता महेश बर्ताैलाले कार्की नेतृत्वको सरकार चुनाव गराउन सक्षम नभएको दाबी गरे।
‘अहिलेको समस्याको समाधान यो सरकारले गर्न सक्तैन। सरकारको मेन्यूमा निर्वाचन भन्ने नै छैन। त्यसकारण सरकारले निर्वाचन गर्दैन,’ उनले भने, ‘फागुन २१ पछि मुलुक भयानक संकटको दिशातर्फ जानसक्ने खतरा सरकारकै क्रियाकलाप र व्यवहारबाट प्रस्टै देखिन्छ। हामीले अहिलेको समग्र राजनीतिक समस्याको हल राजनीतिक अन्तर-विरोधको समाधान र अहिले सतहमा देखिएका कैयौँ विषयहरूको दीर्घकालीन समाधान गर्ने एउटै आधार भनेको विघटित प्रतिनिधि सभाको पुनर्स्थापना हो।’
उनले थपे, ‘प्रतिनिधि सभा पुनर्स्थापना गरेर त्यसैमार्फत सुशासन र भ्रष्टाचार अन्त्यका लागि के-के कानुनले अवरोध गरेका छन्, कुन-कुन नयाँ कानुन हुनुपर्ने हो, त्यो काम संसद्ले गरोस्। पुनर्स्थापित संसद्बाट हामीले केही काम गरेर अर्ली इलेक्सन गर्दै ताजा जनादेशमा हामी जान सक्छौँ, अहिलेको उत्तम विकल्प भनेको उपयुक्त विधि संसद् पुनर्स्थापना हो।’
तर, चुनावबाट एमाले नभाग्ने पनि उनले बताए।
‘जनताबाट परीक्षा लिने कुरामा हाम्रो पार्टी पिठ्युँ फर्काएर भाग्दैन,’ उनले भने।
बैठकमा माओवादीका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जेनजीले उठाएको माग सम्बोधन गर्ने दिशामा अघि बढे मात्र नेपाली समाज अग्रगमनको दिशातर्फ जाने तर्क गरे।
‘अहिले चुनाव गर्नुपर्छ, सबै पार्टी चुनावमै जानुपर्छ,’ उनले भने, ‘सरकारले प्रतिबद्धता देखाउनुपर्यो। सबै पार्टी र जेनजीले सहमति गर्नुपर्यो। सरकारले भयरहित निष्पष्क्ष चुनाव गर्ने ग्यारेन्टी गर्नुपर्यो। जेलबाट भागेका कैदी फिर्ता ल्याएँ भन्न सक्नुपर्यो। लुटिएका हतियार फिर्ता गरेँ भन्नुपर्यो, प्रहरीको मनोवल उठाउनुपर्यो, सबै काम गरिदिनुपर्यो यसो भएपछि चुनाव हुन्छ, गर्न सकिन्छ। चुनाव भएन भने देश ठूलो संकटमा जान्छ। अहिले कसैले यताउता कुरा नगरौँ, चुनाव गराउन यो सरकारलाई सफल पारौँ।’
रास्वपाकी नेता निशा डाँगीले चुनाव गराउनुपर्ने धारणा राखेको बताइन्। तर, चुनावभन्दा अगाडि एउटा सहमति गर्न आवश्यक रहेको कुरा उनले उठाइन्।
‘चुनावपछि गठन हुने प्रतिनिधि सभाले के-के काम गर्ने भनेर सर्वदलीय सहमति हुन आवश्यक छ, जसमा जेनजीका माग र मुद्दा पनि समावेश हुन र सबै दलले सहमति जनाऊन्,’ उनले भनिन्, ‘चुनाव राम्रोसँग गर्न सम्बन्धित निकायले सहज चुनाव गराउने सहमति गर्नुपर्छ। युवा पुस्तालाई अगाडि सार्ने हो कि प्रतिवद्धता जनाउनुपर्छ। चुनाव खर्चिलो छ। यसलाई घटाउन सबैले छलफल गरौँ। टिकट वितरण प्रणालीमा पनि पुनर्विचार गरेर चुनावमा जाऊँ।’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजा, राजनीतिक दल र जेनजीकाबीच नवीन समझदारी गरेर मात्र निर्वाचनमा जानुपर्ने अडान राखेको छ।
राप्रपाका तर्फबाट बैठकमा सहभागी प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले ७ बुँदे धारणा राखे।
‘यही संविधान र प्रणालीबाट जेनजी पुस्ताले खोजेको परिवर्तन सम्भव नहुने भएकाले राजा, राजनीतिक दल र जेनजीका बीच नवीन समझदारी गरेर मात्र निर्वाचनमा जानुपर्ने हाम्रो प्रस्ताव छ’ उनले भने, ‘जेनजी विद्रोहमा उठेका राजनीतिक मुद्दाहरू, संविधान संशोधन र सुशासनसँग सम्बन्धित विषयहरूलाई सम्बोधन गरेर मात्र निर्वाचनमा जानुपर्छ।’
जनता समाजवादी पार्टी (जसपा), नेपालले पनि चुनावमै जानुपर्ने मत राखेको नेता प्रकाश अधिकारीले जानकारी दिए।
गत भदौ २९ र ३० गते बसेको पार्टी बैठकले नै चुनावमा जाने निर्णय गरेको उनको भनाइ छ।
‘चुनावमा भाग लिने निर्णय हामीले पहिले नै गरिसकेका हौँ,’ उनले भने, ‘तर संविधानभन्दा पनि आवश्यकताको सिद्धान्तमा बनेको सरकारले गर्न लागेको चुनावमा जानुको विकल्प भएन। तर, ०८४ को चुनाव ०८२ मा किन गर्न खोजिदैँ छ? किनभने आन्दोलन भयो, सुधारको माग भयो। जसपा नेपालले संविधान सुधारको लागि वर्षाैंदेखि माग राख्दै आएको हो। संविधानमा केही सहमति औचित्य पुष्टि गरेर गरौँ।’
उनले थपे, ‘स्वच्छ निष्पक्ष चुनाव कसरी हुन्छ? चुनावपछि संविधान संशोधन गर्ने कुरा कसरी गर्ने? यो यो कुरा सुधार गरिन्छ भनेर सहमति गरौँ अनि चुनावमा जाऊँ।’
बुधबारको त्रिपक्षीय बैठकमा नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले आफ्नो पार्टी चुनावमा जान तयार रहेको बताए।
‘कांग्रेस संसद् पुनर्स्थापना हुनैपर्छ भनेर अडिग रहेन,’ जसपा नेपालका नेता प्रकाश अधिकारीले सुनाए, ‘भएको परिवर्तनलाई कसरी कानुनी रूपमा मिलाउने? के-केमा सहमतिमा गर्ने हो, त्यो पनि गरौँ भन्ने कांग्रेसको प्रस्ताव थियो।’
एमालेले पदाधिकारी तहका कुनै नेतालाई बालुवाटार पठाएन। उसले महेश बर्ताैला र क्षितिज थेबेलाई छलफलमा पठायो।
बर्ताैलाले बालुवाटार बैठकमा प्रस्टसँग संसद् पुनर्स्थापना आफ्नो पार्टीको बटम लाइन भएको बताए।
सबैका कुरा सुनेपछि प्रधानमन्त्री कार्कीले निर्धारित मितिमै चुनाव गराउन सरकार तयार रहेको अडान प्रस्तुत गर्दै निर्धक्कसँग तयारीमा लाग्न राजनीतिक दल र जेनजी प्रतिनिधिलाई आग्रह गरिन्।
‘सरकार चुनाव गराउन लागिपरेका छौँ, यसमा सबै सहभागी बनौँ, त्यसका लागि केन्द्रित बनौँ, शान्ति-सुरक्षाको व्यवस्था पनि गरिन्छ,’ कार्कीले प्रतिबद्धता जनाउँदै भनिन्, ‘बाहिर पुगेको हतियार ल्याइसक्छौँ, कैदीहरू सबै समात्छौँ, फरार कैदी समात्ने प्रक्रिया सुरु भएको छ, कति समातिएका छन्, बाँकी समात्छौँ।’
प्रधानमन्त्री कार्कीले आफू लडाकु स्वभावको मानिस भएको सुनाउँदै आँटेका काम पूरा गरेरै छाड्ने दाबी गरिन्।
‘म पहिलादेखि लडाकु हुँ। मेरा परिवारका अरू सदस्य पनि लडाकु स्वभावकै हुनुहुन्छ। हामी डराउँदैनौँ। भनेको पुर्याउँछौँ’, उनले भनिन्, ‘अनिलजी (अनिलकुमार सिन्हा) लाई अनुरोध गरेर ल्याएको (मन्त्री बनाएको) हुँ। उहाँजस्तो इमानदार र बुझेको मान्छे हुँदा धेरै काम सहज भएको छ। हेर्दै जानुहोस्, हामीले केके गर्दै छौँ? हिजो थन्क्याएका फाइल खुलाउँदै छौँ। कति त समातिइसकेका छन्। कतिलाई समात्दै छौँ। यदि भ्रष्टाचार गरेको भेटिए मेरै स्वर्गीय बुवालाई पनि लगेर खोरमा थुन्न तयार छु। त्यो दृढताका साथ हामी अघि बढेका छौँ।’
उनले जेनजी आन्दोलनका घाइतेहरूको उपचार र सहिदका परिवारलाई पनि राज्यले सहयोग गर्ने बताइन।
Shares

प्रतिक्रिया