राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजा, राजनीतिक दल र जेनजीकाबीच नवीन समझदारी गरेर मात्र निर्वाचनमा जानुपर्ने बताएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले आज बालुवाटारमा राखेको सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूको संयुक्त बैठकमा राप्रपाले सो धारणा राखेको हो। बैठकमा राप्रपाको तर्फबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठ सहभागी थिए।
बैठकमा आफूहरूले ७ बुँदे धारणा राखेको नेता श्रेष्ठले बताए।
श्रेष्ठका अनुसार यस्ता छन् राप्रपाले राखेका अवधारणा
१) यही संविधान र प्रणालीबाट जेनजी पुस्ताले खोजेको परिवर्तन सम्भव नहुने भएकाले राजा, राजनीतिक दल र जेनजीका बीच नवीन समझदारी गरेर मात्र निर्वाचनमा जानुपर्ने धारणा राखेको छ। राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले निर्णय गरे अनुसारको राजनीतिक धारणा सरकार, राजनीतिक दल र जेनजीहरु सम्मिलित बालुवाटार बैठकमा औपचारिक रुपमा प्रवेश गराइएको छ।
२) विद्रोह अधुरो रहँदा पूर्ण विद्रोहको सम्भावना जीवित रहने भएकाले जेनजी विद्रोहमा उठेका राजनीतिक मुद्धाहरु, संविधान संशोधन र सुशासनसंग सम्बन्धित विषयहरुलाई सम्बोधन गरेर मात्र निर्वाचनमा जानुपर्ने धारणा राखिएको छ।
३) विगतको त्रुटिपूर्ण मार्गचित्रका कारण देशमा आजको अवस्था सिर्जना भएको र यो अवस्थामा सुधार नगरी पुरानो मार्गचित्रकै निरन्तरताले फेरी पनि गलत ठाऊँमै पुगिने अवश्यम्भावी छ। इतिहासले दिएको यो अवसरलाई कोर्स करेक्सनको अवसरको रुपमा सदुपयोग गर्न सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिको गम्भीर ध्यानाकर्षण गराइएको छ।
४) प्रधानमन्त्री सुशीला कार्कीलाई इतिहासले दिएको कोर्स करेक्सनको यो अवसरलाई आवश्यक पहलकदमी लिन र इतिहासले सदा सम्मानपूर्वक सम्झने पात्रको रुपमा दर्ज हुन आग्रह गरिएको छ।
५) निर्वाचन जस्तो प्रजातान्त्रिक पद्धतिबाट राप्रपा अलग हुँदैन तर यथास्थितिमा हुने निर्वाचनले समाधान दिदैन भन्ने राप्रपाको व्याख्यात्मक धारणा राखिएको छ।
६) राप्रपाले उठाउँदै आएको राजनीतिक, सामाजिक र सुशासनसंग सम्बन्धित विषयलाई बुँदागत रुपमा राखिएको छ।
७) जेनजीका कतिपय फरक फरक धारणाहरुलाई संश्लेषण गरी जेनजी विद्रोहको स्पिरिटसंग एकरुपता कायम गर्न आग्रह गरिएको छ।
Shares

प्रतिक्रिया