राजनीति


देउवा दम्पती महिना दिन सिंगापुरमै बस्ने, घाँटीको थेरापीमा समय लाग्ने

प्रतिनिधिसभा पुनर्स्थापना भए फेरि प्रधानमन्त्री बन्ने आश
देउवा दम्पती महिना दिन सिंगापुरमै बस्ने, घाँटीको थेरापीमा समय लाग्ने

नेपालखबर
कात्तिक ११, २०८२ मंगलबार २०:५०, काठमाडौँ

स्वास्थ्योपचारका लागि सिंगापुर प्रस्थान गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा झण्डै एक महिना उतै रहने भएका छन्। घाँटीको थेरापीका लागि लामो समय लाग्ने भएकाले देउवा लामो समय सिंगापुर बस्ने भएका हुन्।

देउवाका निकट स्रोतका अनुसार, २४ भदौमा उनकै निवासमा भएको आक्रमणका क्रममा उनको घाँटीमा छुरी प्रहार भएको थियो। त्यो प्रहार छलेका कारण गम्भीर चोट नलागे पनि घाँटीको एकातिरको छेउको नसा चुँडिएको छ। 

लामो समय उपचारका लागि विदेशमा रहनुपर्ने भएका कारण उनले कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई ‘कार्यवाहक सभापति’को जिम्मेवारी दिएका छन्। 

सभापति देउवाले २८ असोजदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा खड्कालाई ‘कार्यवाहक सभापति’ को जिम्मेवारी दिएका थिए। सोही दिनदेखि सुरु भएको केन्द्रीय कार्यसमितिको बैठक १३ कार्तिकदेखि पुनः सुचारु हुँदैछ। 

अझै प्रधानमन्त्री बन्ने सपना
खड्कालाई दिइएको ‘कार्यवाहक सभापति’ १५ औँ महाधिवेशनसम्मकै लागि हो वा उपचार गरेर नफर्कुञ्जेलसम्मका लागि हो, त्यो भने देउवाले प्रस्ट पारेका छैनन्।

तर, यो जिम्मेवारी हस्तान्तरणका बेला प्रयोग गरिएको शब्दावलीका कारण देउवा स्वस्थ नहोउञ्जेलसम्मका लागि मात्र खड्काले ‘कार्यवाहक सभापति’ को जिम्मेवारी पाएका हुन् भन्ने अनुमान लगाउन सकिन्छ। 

२८ असोजको बैठकको सुरुवातमा वाचन गरिएको १३ पृष्ठ लामो लिखित मन्तव्यको अन्त्यमा देउवाले आफ्नो ‘स्वास्थ्यका कारण’ पार्टीका उपसभापति खड्कालाई कार्यवाहक सभापति तोकेको उल्लेख गरेका थिए। 

त्यसमा उनले पार्टी नेतृत्वमा पुस्तान्तरण हुनुपर्ने मागका कारण आफूले जिम्मेवारी हस्तान्तरणको निर्णय गरेको भन्न चाहेनन्। 

स्रोतका भनाइमा स्वास्थ्य उपचारका लागि खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको बताएका सभापति देउवा अझै आफू प्रधानमन्त्री बन्ने कुरामा भने विश्वस्त छन्। प्रतिनिधि सभा पुनर्स्थापना भएमा सबैभन्दा ठूलो दलको हैसियतमा स्वतः प्रधानमन्त्री बन्ने विश्वास उनमा छ। 

‘फेरि प्रधानमन्त्री बन्छु भन्ने विश्वास उहाँमा देखिन्छ। त्यहीकारण पनि उहाँ उपचारका लागि सिंगापुर जानु भएको हो,’ देउवानिकट स्रोतले भन्यो, ‘उपचारका लागि गए पनि सहयोगीका रूपमा उहाँले कोही पनि लैजानु भएको छैन।’

उपचारको क्रममा सिंगापुरमा रहँदा उनको हेरचाह पत्नी डा आरजु राणा देउवाले गर्नेछिन्। सिंगापुरमा रहेका देउवा निकट नेपालीहरुले पनि उपचारका क्रममा सघाउ पुर्‍याउने छन्। 

२४ भदौको आक्रमणका भिडिओमा आरजु पनि रक्ताम्य अवस्थामा देखिएकी थिइन्। तर, त्यो आक्रमणका क्रममा लागेको चोट यसबीचमा निको भइसकेको छ।

‘सिंगापुर बसाइका क्रममा देउवाको उपचार मूलतः ‘थेरापी’ हुनेछ, बीचमा चिकित्सकहरुले केही दिनका लागि रेस्ट दिन सक्छन्,’ स्रोतले भन्यो, ‘त्यसैले, बीचमा नेपाल फर्केर फेरि जानुभन्दा बीचको अवधिमा उतै रहने योजना बनाइएको छ।’

देउवा दम्पती सोमबार राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर प्रस्थान गरेका थिए। २४ भदौमा देउवा निवासमा भएको आगजनीमा दम्पतीकै पासपोर्ट जलेकाले उपचारका क्रममा रहेकै बेला ३ असोजमा उनीहरुको राहदानी (कूटनीतिक) बनाइएको थियो। 

राहदानी विभागका अधिकारीहरु देउवा दम्पती रहेकै अज्ञातस्थलमा पुगेर ‘मोबाइल किट’ मार्फत् कूटनीतिक राहदानी बनाएर प्रदान गरेका थिए। 

देउवा दम्पतीको राहदानीमा प्रम कार्कीको चासो
संविधान दिवस भएकाले ३ असोजमा सार्वजनिक बिदा थियो। यसरी सार्वजनिक बिदाको दिन उनीहरु रहेकै अज्ञात स्थानमा पुगी कूटनीतिक राहदानी (रातो पासपोर्ट) दिएको विषय विवादित समेत बन्यो। 

स्रोतका अनुसार, देउवा दम्पतीलाई कूटनीतिक राहदानी दिइएको विषय सार्वजनिक भएपछि प्रधानमन्त्री सुशीला कार्कीले परराष्ट्र मन्त्रालयका अधिकारीहरुसँग यसबारे जिज्ञासा राखेकी थिइन्। 

पूर्वप्रधानमन्त्रीका हैसियतमा देउवा र पूर्वपरराष्ट्रमन्त्रीका हैसियतमा आरजुले ऐनअनुसार कूटनीतिक राहदानी प्राप्त गर्ने बताउँदै परराष्ट्रका अधिकारीहरुले राहदानी विभाग सार्वजनिक बिदाको दिन पनि खुला हुने जानकारी गराएका थिए। 

‘राहदानी प्रदान गर्ने विषय अत्यावश्यक सेवा अन्तर्गत पर्छ, त्यसैले सार्वजनिक बिदाको दिन भए पनि राहदानी विभाग खुला हुन्छ,’ अधिकारीहरुले प्रधानमन्त्री कार्कीलाई भनेका थिए, ‘बिदाको दिन पनि थोरै कर्मचारी विभागमा रहन्छन् र अत्यावश्यक परेका व्यक्तिहरुलाई राहदानी प्रदान गर्छन्।’

जहाँसम्म देउवा दम्पती रहेकै स्थानमा राहदानी प्रदान गरिएको विषय हो, देउवा दम्पतीलाई मात्र नभई एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकार र छोरा निर्भीक खनाललाई पनि कीर्तिपुर अस्पतालमै गएर ‘मोबाइल किट’ मार्फत् राहदानी बनाई उपलब्ध गराइएको जानकारी प्रधानमन्त्री कार्कीलाई गराइएको थियो। 

२४ भदौको आगजनीबाट गम्भीर रूपमा घाइते चित्रकारलाई ६ असोज राति उपचारका लागि नयाँदिल्ली लगिएको थियो। नयाँदिल्ली लगिनुअघि उनी कीर्तिपुर अस्पतालमा उपचाररत थिइन्। छोरा निर्भीक उनको हेरचाहमा खटिएका थिए। 

२४ भदौमा डल्लुस्थित खनाल निवासमा गरिएको आगजनीबाट तीनै जनाको राहदानी जलेर नष्ट भएको थियो। खासगरी रविलक्ष्मी राहदानी बनाउन विभाग आउन सक्ने स्थितिमा थिइनन्।  

त्यहीकारण रविलक्ष्मीका लागि राहदानी बनाउन विभागका कर्मचारीहरु ‘मोबाइल किट’ सहित कीर्तिपुर अस्पताल पुगेका थिए। 

यसरी देउवा दम्पतीलाई मात्र नभई खनाल परिवारलाई पनि अस्पताल नै पुगेर राहदानी उपलब्ध गराइएको बताएपछि प्रधानमन्त्री कार्की ‘कन्भिन्स’ भएकी थिइन्। 

‘तैपनि उहाँको बढी सरोकार सार्वजनिक बिदाको दिन किन दिइयो भन्ने रहेछ,’ राहदानी विभाग स्रोतले भन्यो, ‘राहदानी अत्यावश्यक सेवा अन्तर्गत पर्ने भएकाले विभाग खुला रहने जानकारी गराइएपछि उहाँ ‘कन्भिन्स’ पनि हुनुभयो र बिदाको दिनपनि राहदानी विभाग खुल्दो रहेछ भन्ने कुराले आश्चर्यमा पनि पर्नुभयो।’

देउवा दम्पतीलाई राहदानी दिँदा भन्दा नदिँदा सरकारलाई बढी समस्या पर्नसक्ने तर्कप्रति पनि प्रधानमन्त्री कार्की ‘कन्भिन्स’ भएकी थिइन्।

‘खासगरी ८० वर्षीय देउवा आक्रमणकारीहरुबाट सख्त घाइते भएका थिए, यस्तोमा उचित उपचार (राहदानी अभावमा) नपाएका कारण देउवाको स्वास्थ्यमा तलमाथि हुँदा सरकार नै अप्ठेरोमा पर्थ्यो भन्ने कुराप्रति प्रधानमन्त्री कार्की सहमत हुनुहुन्थ्यो,’ स्रोतले भन्यो, ‘यी सबै कुरा सुनेपछि उहाँले पनि मन्त्रालयका अधिकारीहरुलाई ठीकै निर्णय गर्नुभयो भन्नुभएको रहेछ।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad