कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनमा सहभागि भएर लोकतान्त्रिक अभ्यासको निरन्तरता सबै राजनीतिक दलको साझा जिम्मेवारी भएको बताएका छन्।
नेत्रविक्रम चन्द नेतृत्वको कम्युनिष्ट पार्टी नेपाल दल दर्ताका लागि पुगेका प्रतिनिधिहरूसँगको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले देशको वर्तमान राजनीतिक जटिलता समाधानका लागि आयोग आफ्नो संवैधानिक दायित्व पूरा गर्न प्रतिवद्ध रहेको पनि बताए।
मुलुक विषम राजनीतिक संकटबाट गुज्रिरहेको उल्लेख गर्दै उनले आउँदो निर्वाचनमा प्रतिष्पर्धामा सहभागी नहुने दलहरू लक्ष्मणरेखाभन्दा बाहिर रहने पनि टिप्पणी गरे। प्रमुख आयुक्त भण्डारीले राजनीतिक दलहरूबीच स्वस्थ प्रतिष्पर्धा र लोकतान्त्रिक मर्यादामा रहेर निर्वाचनमा सहभागी हुन सबै दलहरूलाई आग्रह पनि गरे।
उनले भने, ‘हामीसँग अहिले आएको दाियत्वलाई जसरी पनि सम्पन्न गर्ने प्रयोजनको लागि मुलुकको वर्तमान कमजोर स्थितिमा पनि दलहरु प्रतिस्पर्धा गर्न आउँदैनन् भने हामी लक्ष्मणरेखाभन्दा बाहिर रहन्छौं। त्यसकारण मुलुकको संरक्षण गर्नु नै हाम्रो दायित्व भन्ने पवित्र सोच र विचार राखेर निर्वाचन आयोगमा दल दर्ता गर्न आउनुभएको छ यहाँहरुलाई निर्वाचन आयोग र मेरो व्यक्तिगत तर्फबाट पनि हार्दिक स्वागत गर्दछु।’
उनले आगामी निर्वाचन प्रक्रियामा नागरिक, राजनीतिक दल, सरकारी निकाय र सञ्चार माध्यम सबैको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै स्वच्छ र शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न सरोकारवाल सबैमा आग्रह समेत गरे।
Shares

प्रतिक्रिया