प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशी बहादुर छोरा भएको बताएकी छन्।
सोमबार त्रिभुवन विमानस्थलमा विपिनको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गरेपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले विपिनले चाहेको भए आफू बच्न सक्ने अवस्था भएको तर, साथीहरूलाई बचाउँदा आफू अपरहणमा परेको बताइन्।
‘उनले चाहेको भए आफू बाँच्न सक्थे। तर, साथीहरूलाई बचाउन लाग्दा अपहरणमा परे’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘उनले आफ्नो देशको नाम त राखे राखे, इजरेली जनता र सरकारबाट पनि सम्मान पाए। त्यसैले उनलाई बहादुर युवा भन्नुपर्छ। यस्तो बहादुर छोरा जन्माउने आमा, उनको खोजीमा अथक संघर्ष गर्ने बहिनीप्रति पनि सम्मान छ।’

उनले विपिन जोशीलाई नेपाली जनताले कहिल्यै बिर्सन नसक्ने स्पष्ट पारिन्। विपिनको शोकमा तीन करोड नेपालीको आँखा रसाएको प्रधानमन्त्री कार्कीको भनाई थियो।
‘विपिन हामी सबैका छोरा हुन्। तीन शब्दको विपिन नाम छ र उनको बहादुरी, साहस जुन छ, हामी कहिल्यै बिर्सने छैनौँ। उनको हिम्मत र साहसप्रति गौरव छ’ उनले भनिन्, ‘आज शोकको घडी छ। विगत दुई वर्षदेखि विपिन जोशीलाई खोजिरहेका तीन करोड नेपालीका आँखा रसाएका छन्।
विपिन जीवितै छन् भन्ने विश्वास थियो। उनलाई सकुशल पाउँछौँ भन्ने हाम्रो कामना र प्रतीक्षा थियो।’
उनले इजरायलमा पढ्न गएका विपिन फर्केर आउनेछन् र, यही विमानस्थलबाट भव्य स्वागत गरेर लिएर जाऔँला भन्ने इच्छा थियो भन्दै विपिन भौतिक रूपमा हामीसँग नभएपनि हाम्रो मनमा रहिरनेछन् भनिन्।
‘अपहरणको शिकार हुँदा उनले कति दुःखकष्ट भोगे होलान्? कसरी मारिए होलान्? परिवारमा कति कष्ट भयो होला? सोच्दा पनि कहाली लाग्छ’ उनले भनिन्, ‘विपिन भौतिक रूपमा हामीसँग छैनन् तर हाम्रो मनमा रहिरनेछन्। उनी हामीसँगै हुनेछन्। विपिन कहिल्यै अस्ताउने छैनन्। हामी सबैको, नेपालको छोरा भएर सधैँ बाँचिरहनेछन्।’
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत २०२३ अक्टोबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए। त्यसपछि उनको अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायली अधिकारीहरुले उनको मृत्यु पुष्टि गरेका थिए।
विपिनको शव इजरायलबाट आज काठमाडौं ल्याइएको हो।
काठमाडौंमा उनीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरी उनको घर कञ्चनपुर पठाइएको छ।
Shares

प्रतिक्रिया