प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलसँगको छलफलको तयारी तीव्र बनाएकी छन्। कार्कीले राष्ट्रिय मान्यता प्राप्त दलका २-२ जना प्रतिनिधिलाई छलफलका लागि बोलाएको उनको सचिवालयले नेपालखबरलाई जानकारी दिएको छ।
सचिवालयका अनुसार प्रधानमन्त्रीले ७ वटा दलका प्रतिनिधिसँग छलफल गर्नेछिन्। छलफल मंगलबार दिउँसो ४ बजेका लागि तय भएको छ। सचिवालयले प्रधानमन्त्रीले विभिन्न दलका नेतासँग अलग–अलग वार्ता तथा छलफल गरिरेको भए पनि यसपटक भने उनले संयुक्तरुपमा दलका प्रतिनिधिसँग छलफल गर्न लागेकी हुन्।
छलफलमा सहभागी हुने दलहरुलाई पत्र पठाउने काम भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकार हटेर अहिले कार्की नेतृत्वको सरकार गठन भएको छ।
कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराउने म्यान्डेट पाएको छ। निर्वाचनबारे दलसँग छलफल नगरेको भन्दै नेताहरूले सरकारको आलोचना गरिरहेको बेला उनले दलका नेतासँगको छलफल तय गरेकी हुन्।
Shares

प्रतिक्रिया