राजनीति


पार्टी पुनर्गठनको माग राख्दै सचिवालयमा बस्न मानिनन् तोसिमा, रास्वपामा खैलाबैला

तोसिमालाई मनीष झाको सुझाव : अभियन्ता होइन, राजनीतिकर्मी बन्नुस्
पार्टी पुनर्गठनको माग राख्दै सचिवालयमा बस्न मानिनन् तोसिमा, रास्वपामा खैलाबैला

सागर न्यौपाने
कात्तिक २, २०८२ आइतबार २१:३०, काठमाडौँ

जेनजी आन्दोलनपछि पुराना तीन दल मात्र होइन, राष्ट्रिय स्वतन्त्र पार्टीभित्र पनि नेतृत्व फेरबदल गर्नुपर्ने आवाज उठ्न थालेको छ। केन्द्रीय सदस्य तोसिमा कार्कीले त्यही कुरा उठाएर सचिवालय बैठकमा बस्न अस्वीकार गरेकी छन्।

जबकि, कार्यवाहक सभापति डोलप्रसाद अर्यालले विघटित प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित पाँच निवर्तमान सांसदलाई सचिवालयमा ल्याउने निर्णय गर्दै सोको जानकारी केन्द्रीय समितिलाई गराएका थिए। 

शिशिर खनाल, सोविता गौतम, हरि ढकाल, गणेश पराजुली र तोसिमा कार्कीलाई सचिवालय सदस्य बनाइएको निर्णय उनले सुनाए।  

रास्वपाको विधानमा सचिवालय सदस्य विस्तार गर्ने अधिकार सभापतिमा निहित छ। सभापति रवि लामिछाने सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धि कसुरमा नख्खु कारागार भएकोले कार्यवाहक सभापति अर्यालले पार्टी हाँकिरहेका छन्। 

शनिबार बेलुका भर्चुअल रूपमा बसेको केन्द्रीय समिति बैठकमा अर्यालले पाँचै जनालाई सचिवालय विस्तार गर्दै समेटेको  निर्णय सुनाए।

तर, उक्त निर्णयप्रति कार्कीले असहमति जनाउँदै सचिवालयमा बस्न अस्वीकार गरिन्।  
 
‘पार्टी पुनर्गठनको विषय उठिरहेको छ, त्यसैको लागि विस्तारित बैठक बस्दैछ, तर सो बैठक समेत नकुरी सचिवालय बिस्तार गरियो,’ कार्कीले बैठकमा भनिन्, ‘हामीले खोजेको यो होइन। कार्यकारी नेतृत्व परिवर्तन हो, पुनर्गठन हो।’

यद्यपि रास्वपाको नेतृत्व महाधिवेशनले मात्र फेर्न मिल्छ। विस्तारित बैठकले त्यो अधिकार राख्दैन। 

उनले नमानेपछि रास्वपाले चार जनालाई समेटेर सचिवालय विस्तार गर्‍यो। 

तर, त्यसअघि नै चार नेतालाई सचिवालयमा ल्याएकोमा कार्कीले असन्तुष्टि जनाइन्। उनले नेतृत्वमा पुरानै दलको जस्तै मानसिकता रहेको आरोप समेत लगाइन्।   

उनले मतदान अधिकार नदिने भए बैठकमा बोलाएर समय, श्रम र पैसा खर्च नगर्न समेत चेतावनी दिइन्। 

‘हामी थप लोकतान्त्रिक हुन जरुरी छ, नेतृत्वको कार्यशैली सच्याउन जरुरी छ। संगठनको जराजराले पार्टीका गतिविधिलाई अपनत्व लिन सक्नुपर्छ,’ उनको थप भनाइ थियो। 

रास्वपाले फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचन र महाधिवेशनको मिति तय गर्न आगामी कात्तिक २१ र २२ गते चितवनमा केन्द्रीय समितिको बिस्तारित बैठक तय गरेको छ। फागुनको लागि तय गरेको महाधिवेशन अनिश्चित बनेको छ। जेन–जी आन्दोलनको कारण केपी शर्मा ओली सरकार हटेपछि फागुन २१ गते प्रतिनिधि सभाको चुनाव गर्नेगरी सुशीला कार्की नेतृत्वको सरकार गठन भएको छ। 

केही समयअघि मात्र रास्वपाकी सहमहामन्त्री सुमना श्रेष्ठले पार्टी छोडेकी छन्। फेरि कार्की समेत पार्टी निर्णय विरुद्धमा उभिएपछि रास्वपाभित्र खैलाबैला भएको छ।

प्रवक्ता मनीष झा अपरिपक्क व्यवहार गरेर कार्कीले आफ्नै पदको गरिमा घटाएको बताउँछन्। 

‘पहिलाको निर्वाचनमा प्रत्यक्ष निर्वाचितलाई प्राथमिककता दिएर सचिवालय विस्तार गर्ने निर्णय भएको हो, त्यसमा उहाँ (कार्की) को पनि नाम छ,’ झाले भने, ‘त्यसमा उहाँले बैठकसम्म आमन्त्रितमै सीमित रहन्छु भनेर अस्वीकार गर्नुभयो।’

सहमहामन्त्री विपिन आचार्यले सभापतिको अधिकार अनुसार सचिवालय बिस्तार गरेको बताए।

पार्टी निर्माणकै चरणमा रहेकोले अहिले अरु पार्टीकै जस्तो पुनर्गठनको कुरा रास्वपामा उठाउन सान्दर्भिक नहुने उनको भनाइ छ।

‘कसैलाई असहमति राख्ने छुट छ, त्यो उहाँले गर्नुभयो,’ आचार्यले भने, ‘तर, पार्टी गठन भएको जम्मा ३ वर्ष मात्र भएको छ, हाम्रो पार्टीको निर्माण पनि सकिएको छैन, अरु पार्टीमा रिफर्मको कुरा आइरहँदा हाम्रोमा त्यही मानक बनाएर रिफर्मको कुरा उठाउनु स्वाभाविक नहोला। परिवर्तनको लागि सबै कुरामा पार्टी तयार हुनुपर्छ भन्ने कुुरामा विमति छैन तर अनुभव, आजको अवस्था लगायतको यथार्थपरक आकलन पनि गर्नपर्छ होला। त्यसमा सबैले अपनत्व लिनुपर्छ।’

तथापि, विस्तारित बैठकमै यस्ता निर्णय गर्न दिएको सुझावलाई अन्यथा लिन नहुने आचार्य बताउँछन्। 

‘व्यक्तिका रूपमा उहाँले भनेका कुरामा दल सहमत होला/नहोला यसमा अन्यथा मान्नुपर्दैन,’ उनले थपे, ‘पार्टीभित्र बसेर पार्टीकै लागि लड्नु भनेको पार्टीको माया हो। फरक मत राख्नु पार्टीका लागि राम्रो हो। यो कुरामा मेरो सहमति छैन भन्न मज्जाले पाइयो। फरक मत राख्यो भने न छलफल हुने हो। फरक मत राख्न पाउने उहाँको अधिकार सधैँ छ।’ 

पार्टीको विधान अनुसार गरिएको निर्णय भएकोले पुनर्विचार नहुने, रोक्न पनि नमिल्ने तर राय दिन पाइने आचार्य बताउँछन्। 

प्रवक्ता झा पनि एक व्यक्तिलाई लागेको सबै कुरा पार्टीमा हुबहु कार्यान्वयन गर्न नसकिने सुनाउँछन्।

‘उहाँको निर्देशन अनुसार पार्टी चल्नुपर्छ, उहाँले भनेका जति सबै कार्यपाहक सभापतिले मान्नुपर्छ भन्ने त हुँदैन,’ उनले थपे, ‘दल हो, सामूहिक अभ्यास र निर्णय हुन्छ।’

कार्कीले आमन्त्रित सचिवालय सदस्य रहने सहमति जनाएर पछि असन्तुष्टि पोखेकोमा झा खुसी छैनन्।

‘तपाईंहरू गर्नुहुन्छ भने गर्नुहोस्, साथीहरूलाई शुभकामना। म चाहिँ आउदिनँ भनेर उहाँले भन्नुभएको थियो। तर, उहाँले असहमति पोख्नु भएको छ, यो त अभियानकै अभ्यास गर्नुभयो। राजनीति र अभियान फरक हो। राजनीतिज्ञले गर्ने व्यवहार र अभियन्ताले गर्ने व्यवहार फरक हुनुपर्छ। न्यूनतम अपेक्षा र अनुरोध– जेनजीका अगुवा र हामीमा फरक छ। त्यही व्यवहार त गर्नुभएन। उहाँको अलि अलि एक्टिभिज्म हाबी छ। पोलिटिसियन जस्तो हुनुपर्छ।’

सहमहामन्त्री विपिन आचार्यका अनुसार रास्वपाको विधान संशोधन कार्यदलमा बसेर कार्कीले समेत काम गरेकी हुन्। जेनजी आन्दोलनपछि नयाँ पार्टी गठनको प्रयास भइरहेकै छ। रास्वपा लगायत जेनजीहरू मिलाउन केही नेता खटिएका छन्। 

यही समयमा पार्टी पुनर्गठनको कुरा उठाउँदा त्यसले रास्वपालाई न्याय नगर्ने नेताहरूको भनाइ छ।

तर, कार्की यो कुरा सुन्ने पक्षमा छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad