नेपाल प्रहरीका प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताको प्रदर्शन र त्यसपछिका घटनाक्रमबाट देशले अकल्पनीय क्षति व्यहोर्नुपरेको बताएका छन्।
शुक्रबार ७० औं प्रहरी दिवस, २०८२ को अवसरमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै उनले राज्यको सबैभन्दा अग्र पंक्तिमा सेवारत विशाल संयन्त्रयुक्त संगठनको रुपमा विकसित भएको नेपाल प्रहरी आजका दिनसम्म नागरिकको स्नेह, आक्रोश समानन्तर रुपमा प्राप्त र सामना गर्ने राज्यको सशक्त प्रतिनिधिको रुपमा स्थापित हुन सफल बताएका हुन्।
उनले राजनीतिक परिवर्तनको हालको परिस्थितिमा र आगामी दिनहरुमा समेत उत्पन्न हुनसक्ने सुरक्षा चुनौती र असहज परिस्थितिको सामना गर्दै आम नागरिकलाई शान्ति सुरक्षा र अमन चयनको प्रत्याभूति दिलाइ नागरिक भरोसाको केन्द्रको रुपमा रहेको नेपाल प्रहरी व्यवसायिक रुपमा सक्षम तथा प्रतिवद्ध रहेको बताए।
नेपाल प्रहरी बिनाको समाज परिकल्पना गर्न नसकिने स्पष्ट पारे। विभिन्न ९ सय ३९ स्थानमा नयाँ प्रहरी इकाइको माग र चार सयभन्दा बढी इकाइमा प्रहरी कार्यालयको स्तरोन्नतिको माग रहेको बताए। यसको पूर्तिका लागि २५ हजार भन्दा बढी प्रहरी जनशक्ति आवश्यक रहेको बताए।
'राज्यको सबैभन्दा अग्र पंक्तिमा सेवारत विशाल संयन्त्रयुक्त संगठनको रुपमा विकसित भएको नेपाल प्रहरी आजका दिनसम्म नागरिकको स्नेह, आक्रोश समानन्तर रुपमा प्राप्त र सामना गर्ने राज्यको सशक्त प्रतिनिधिको रुपमा स्थापित हुन सफल भएको छ,' उनले भने, 'राजनीतिक परिवर्तनको हालको परिस्थितिमा र आगामी दिनहरुमा समेत उत्पन्न हुनसक्ने सुरक्षा चुनौति र असहज परिस्थितिको सामना गर्दै आम नागरिकलाई शान्ति सुरक्षा र अमन चयनको प्रत्याभुति दिलाइ नागरिक भरोसाको केन्द्रको रुपमा रहेको नेपाल प्रहरी व्यवसायिक रुपमा सक्षम तथा प्रतिवद्ध रहेको छ।'
जेनजी प्रदर्शनको क्रममा नेपाल प्रहरीका सदस्यले पनि ज्यान गुमाएकोप्रति उनले दु:ख व्यक्त गरे।
'गत भदौ २३ र २४ गतेको जेन जी पुस्ताको युवा तथा विद्यार्थीको प्रदर्शन त्यसपश्चातका घटनाक्रमबाट देशले अकल्पनीय क्षति व्यहोर्नुपरेको छ,' उनले भने, 'उक्त प्रदर्शनको क्रममा नेपाल प्रहरीका सदस्य र ज्यान गुमाउनुभएका अन्य दिवंगत आत्माहरुको चीर शान्तिको कामना गर्दछु।'
Shares

प्रतिक्रिया