नेकपा (एमाले) का केन्द्रीय सदस्य टंक कार्कीले भदौ २४ गतेको घटना कोत पर्व र भण्डारखाल पर्व जस्तै भएको बताएका छन्।
एमालेको जारी केन्द्रीय कमिटीको १० औँ बैठकमा आफ्ना धारणा प्रस्तुत गर्दै कार्कीले यस्तो बताएका हुन्।
उनले जेनजी आन्दोलनमा विभिन्न शक्तिको हस्तक्षेपका कारण विध्वंस भएको दाबी पनि गरे।
‘यो जेनजीको नाममा भएको कोतपर्व भन्डारखाल पर्व पछिको सबैभन्दा ठूलो पर्व हो। यो विध्वंशकारी पर्व हो’ उनले भने, ‘यसमा चार शक्तिको संलग्नता छ।’
उनले जेनजी आन्दोलनमा सत्ता ढालेर सत्तासिन हुन आतुर पुनरुत्थानवादी शक्ति र नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामा चुनौती दिन चाहने बाह्य शक्तिले घुसपैठ गरेको दाबी गरे।
उनले भने ‘बाह्य शक्तिका आ–आफ्नै रणनीति र लक्ष छन्। हाम्रो भूराजनीति, रणनीतिलाई आफ्नो पक्षमा पार्न बाह्य शक्तिको हस्तक्षेप। यसमा योजनावद्ध रुपमा प्रायोजित ढंगले प्रवेश भएको हो। यसबाट हाम्रो राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र भौगोलिक अखन्डतामा चुनौति थपिन सक्छ।’
उनले पूर्वानुमान गर्नमा कमी रहेकै कारण यत्रो विध्वंस भएको भन्दै यो जिम्मेवारीबाट नेतृत्व उम्किन सक्दैन भने।
उनले राष्ट्रिय संकटको मोचनका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताए।
‘साझा एजेण्डा निर्माण गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई केन्द्र विन्दु बनाएर साझा कार्यदिशा र एजेण्डा तैयार गर्नु पर्दछ’ उनले भने, ‘स्वतन्त्र, शान्तिपूर्ण र भयरहित चुनावको पक्षमा उभिँदै त्यो हुन नसकेमा संसद पुनर्स्थापना सहितको विकल्पमा खुला भएर साझा कार्यदिशा निर्माण गर्नु पर्दछ।’
यस्तै, उनले संकटको बेला विपक्षीसँग समेत घाँटी जोड्नुपर्छ भन्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा सम्मानका साथ स्थान दिनुपर्ने बताए।
Shares

प्रतिक्रिया