नेकपा (एमाले)का केन्द्रीय सदस्य महेश बर्तौलाले प्रतिनिधि सभा पुनर्स्थापना नभए मुलुक अर्को दुर्घटनामा फस्न सक्ने चेतावनी दिएका छन्।
एमालेको जारी केन्द्रीय कमिटी बैठकमा धारणा राख्दै बस्र्तौलाले आगामी फागुन २१ गते चुनाव हुन नसक्ने बताए।
‘घोषित मितिमा निर्वाचन पनि नगर्ने र अर्कोतर्फ जनप्रतिनिधिमुलक सर्वोच्च संस्था संसद् पनि नहुने हो भने मुलुक अर्को भयानक संकट र दुर्घटनातर्फ उन्मुख रहने खतरा सुनिश्चित नै छ’ उनले भने, ‘आगामी फागुन २१ गते निर्वाचन सम्पन्न गराउने कार्यादेश सहित असंवैधानिक ढङ्गले बनेको यो सरकारले निर्वाचन गराउँदैन भन्ने कुरा उसका सुरुदेखिकै व्यवहार र गतिबिधीहरूबाट घाम जत्तिकै छर्लङ्ग हुँदै गएको छ।’
सरकार निर्वाचनको वातावरण बनाउनेतर्फ भन्दा पनि मुलुकमा डर, भय, त्रास र आतङ्क सिर्जना गरेर सत्तामा रहिरहन चाहेको उनको आरोप थियो।
राजनीतिक दलहरूसँग संवाद र छलफलको सट्टा निषेधको कार्यशैलीका साथ सरकार अगाडी बढेको उनले टिप्पणी गरे।
उनले मुलुकलाई निकाश दिन र जेनजी पुस्ताको भावना समेट्न वघटित संसदको पुनर्स्थापना, पुनर्स्थापित संसदबाट सर्वदलीय राष्ट्रिय सरकार निर्माण, विषय किटान गरेर ताजा जनादेशको लागि मध्यावधि निर्वाचन गर्नुपर्ने बताए।
‘यसका लागि यो व्यवस्था र संविधान स्वीकार गर्ने सम्पूर्ण नागरिकहरू, राजनीतिक दल, लोकतान्त्रिक देशभक्त र राष्ट्रवादी शक्तिहरू एक ठाँउमा उभिनु जरुरी रहेको उनको भनाई थियो।
Shares

प्रतिक्रिया