राजनीति


एमाले बैठकमा १९६ जनाले राखे धारणा, भने– गणतन्त्रको रक्षा गर्न संसद पुनर्स्थापना

एमाले बैठकमा १९६ जनाले राखे धारणा, भने– गणतन्त्रको रक्षा गर्न संसद पुनर्स्थापना

नेपालखबर
असोज ३०, २०८२ बिहिबार १८:२४, काठमाडौँ

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकको दोस्रो दिन आज १ सय ४६ जना केन्द्रीय सदस्यहरूले आफ्ना धारणा राखेका छन्।

बुधबारबाट सुरु भएको बैठकको पहिलो दिन ५० जना सदस्यहरूले आफ्ना धारणा राखेका थिए। दुई दिनमा कुल १ सय ९६ जना केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम सकिएको हो। 

एमाले केन्द्रीय समितिका ३ सय ४२ जना सदस्यहरू छन्। 

अध्यक्ष केपी शर्मा ओलीले राखेको राजनीतिक प्रतिवेदनमाथि नेताहरूले धारणा राख्नेक्रम जारी रहेको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। 

उनका अनुसार प्रस्तुत रायहरूमा संविधानको रक्षा, जनाधिकारको रक्षाका लागि प्रतिनिधि सभाको पुनर्स्थापना गर्नुपर्ने, पुनःस्थापना गर्दा संविधान, लोकतान्त्रिक गणतन्त्रात्मक पक्षधर शक्तिहरुलाई एक ठाउँमा ल्याएर उनीहरुको समेत सहभागितामा व्यापक जनपरिचालनको माध्यमबाट निर्णयमा पुर्‍याउनुपर्ने विषय उठेको छ।

अहिलेको समयमा सबैभन्दा सरल, सहज र संविधानलाई ट्रयाकमा ल्याउने, जनाधिकार, लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने एकमात्र सहज बाटो संसद पुनर्स्थापनाको बाटो हुने निष्कर्षतर्फ कमिटी अघि बढिरहेको उनले बताए।

सरकारले निर्वाचन घोषणा गरेको सन्दर्भमा निर्वाचन आयोगले राजनीतिक दलहरूलाई बोलाएकोमा ७ बुँदामा केन्द्रित रहेर सरकारलाई निर्वाचनको वातावरण बनाउन अपिल गरेको छ। 

निर्वाचनमा भाग नै नलिने कुरा एमालेले नगरेको भन्दै निर्वाचनको वातावरण सरकारले बनाउन नसकेको नेता गौतमले दाबी गरे। सरकारले राजनीतिक दलहरूलाई निषेध गर्ने, राजनीतिक दलका नेताहरूमाथि झमेला लगाउने, धाकधम्की दिने र सीमा निर्धारण गर्ने जस्ता कामले निर्वाचनको वातावरण नबनेको उनको धारणा थियो।

प्रचार विभाग प्रमुख गौतमले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरूलाई बोलाएर छलफल अहिलेसम्म पनि नगरेको बताए। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताका बारेमा पनि बैठकमा राय आएको उनले जानकारी दिए। 

गौतमले जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गतेको भएका घटनाको वस्तुनिष्ठ छानबिन गरी दोषीउपर कारबाही गर्न माग गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad