सर्वोच्च अदालतमा रिट निवेदनसहित देवानी तथा फौजदारी मुद्दाहरू दर्ता तथा सुनुवाई प्रक्रिया सुरु भएसँगै मंगलवार चार वटा रिट निवेदन दर्ता भएका छन्।
सर्वोच्च अदालतले रिट निवेदन दर्ता गर्न शुरु गरेसँगै मंगलवार चार वटा रिट निवेदन दर्ता भएको सर्वोच्च अदालतका सहायक प्रवक्ता निराजन पाण्डेले बताए। उनकाअनुसार चारवटै रिटमाथि बुधवारको लागि पेसी तोकिएको छ।
पाण्डेले सरकार गठन प्रक्रिया र प्रतिनिधि सभा विघटन खारेजीको अमाग गर्दै १० वटा मुद्दाहरु आएको पनि बताए। यद्यपि ती मुद्दाहरू अध्ययनकै क्रममा रहेको सहायक प्रवक्ता पाण्डेको भनाइ छ।
जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले सर्वोच्च अदालतको भवनमा आगजनी गरेपछि सर्वोच्चको कामकारबाही प्रभावित भएको थियो। उनले मंगलबार सर्वोच्चमा एउटा मात्र संयुक्त इजलास बसेको बताए।
उक्त इजलास टेन्टमा नभई अदालतको भूकम्पपछि निर्माण गरिएको भवनमा बसेको थियो। तिहारपछि सर्वोच्चका सबै सेवाहरू भवनबाटै शुरु गर्नेगरी तयारी भइरहेको उनको भनाइ छ।
उनले भने, ‘आज अन्य चार किसिमका रिटहरू आएका छन्। दर्ता पनि भइसकेका छन्। भोलिको लागि पेसी तोकिएको छ। सरकार गठन र संसद् विघटनसम्बन्धीका मुद्दाहरू चाहिँ दश वटा आएको छ। अहिले त्यसलाई अध्ययनकै क्रममा रहेका छन्। आज एउटा संयुक्त इजलास मात्रै बस्यो। टेन्टमा नभई भवनमै इजलास बस्यो। केहीदिन हामीले टेन्टबाटै काम गरिरहेका थियौं। सर्वोच्चको पुरानो भवनमा पाँच वटा इजलास पहिलेदेखि नै बसिरहेको थियो। पाँच वटा इजलास त्यहीबाट र अन्य इजलास समेत व्यवस्थापन गरेर तिहारपछि सबै इजलासहरु भवनहरुबाटै सञ्चालन गर्ने तयारी गरिरहेका छौं।’
पाण्डेले सुनुवाई स्थगित गरिएका मुद्दाहरूको सुनुवाई प्रक्रिया समेत अगाडि बढाउने प्रयास भइरहेको भन्दै न्यायका उपभोक्ताहरूलाई नआत्तिन आग्रह गरे।
Shares

प्रतिक्रिया