पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले जेनजी आन्दोलनमा उठेका माग सबै नेपालीको भएको बताएका छन्।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन दबाउन सरकारबाट बल प्रयोग गर्ने नीति नरहेको दाबी उनले गरे।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय पदाधिकारी बैठकमा सहभागी भएर बहिरिने क्रममा शुक्रबार पूर्वगृहमन्त्री लेखकले भदौ २३ गतेको घटनाका सम्बन्धमा सरकारद्वारा गठित आयोगले निष्पक्ष छानबिन गर्नुपर्नेमा जोड दिए।
‘जेनजी आन्दोलनमा उठेका विषय सबै नेपालीको माग थियो, सुशासन कायम र भ्रष्टाचार नियन्त्रण जेनजीहहरूले उठाएको माग हो, तर त्यो आन्दोलनमा घुसपैठ भएर दुःखद् घटना भयो, घटना दुःखदायी र पीडादायी थियोे, मैले २३ गते नै गृहमन्त्रीबाट राजीनामा गरिसकेको थिएँ, २४ गते दुःखद् घटना भयो, सरकारी र निजी संरचनामा आगजनी भए, यो दुःखद् छ’, उनले भने।
उनले अहिलेको समयमा उत्तेजित हुने र आग्रह पूर्वाग्रहका आधारमा क्रियाशील हुनेभन्दा बृहत्तर हितका लागि ठीक ढङ्गले अगाडि बढ्नुपर्छ भन्नेमा जोड दिए।
‘२६ गतेको बैठकको तयारीका लागि पदाधिकारी र कार्यसम्पादनको बैठक भएको हो, अहिले नेपाली कांग्रेसमा मात्रै नभएर देशमा एकताको आवश्यकता रहेको छ, बृहतर संवादको आवश्यक छ, जेन जेड पुस्ताले माग गरेको कुरालाई सम्बोधन गर्नुपर्ने छ’, उनले भने।
लेखकले भदौ २३ गतेको घटनाको छानबिन गर्नका लागि गठन भएको आयोगले लोकतान्त्रिक पद्धतिभित्र बसेर मुलुकको संविधान र कानुनभित्र बसेर काम गर्नुपर्ने बताए।
Shares

प्रतिक्रिया