राजनीति


सुदनसहित जेनजीका पाँच समूहलाई बालुवाटार बोलाएर दुई घण्टा छलफल, के भयो कुराकानी?

सुदनसहित जेनजीका पाँच समूहलाई बालुवाटार बोलाएर दुई घण्टा छलफल, के भयो कुराकानी?

नेपालखबर
असोज १८, २०८२ शनिबार २१:३४, काठमाडौँ

भ्रष्टाचार, नातावादलगायत बेथितिविरुद्ध आन्दोलन गरेका युवाहरूका विभिन्न समूहलाई बोलाएर सरकारले विस्तृत छलफल गरेको छ।

सबै समूहलाई एकै ठाउँमा राखेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब दुई घण्टा छलफल भएको थियो। छलफलमा प्रधानमन्त्री सुशीला कार्की भने उपस्थित भएकी थिइनन्। तर, उनको सचिवालयले छलफलको संयोजन गरेको थियो।

छलफलमा सरकारका तर्फबाट गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङ, अर्थमन्त्री रामेश्वर खनाल, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठको उपस्थिति थियो।

जेनजीका पाँचवटा समूहबाट करिब २५ जनाको सहभागिता थियो। जेनजीका नाममा विभिन्न समूह देखापरेका र तिनका अभिव्यक्ति र मागहरू पनि फरकफरक देखिएकाले एकै ठाउँमा बोलाएर छलफल गर्नुपरेको बालुवाटार स्रोतको भनाइ छ।

सुदन गुरुङ, रक्षा बम र बब्लु गुप्ताका बेग्लाबेग्लै समूह जेनजीका नाममा सक्रिय छन्। अभिषेक श्रेष्ठको नेतृत्वमा घाइतेहरूको समूह बनाइएको छ। सहिद परिवारका प्रतिनिधिहरूको बेग्लै समूह छ। 

सुदन गुरुङले एउटा वार्ता समूह गठन गरेपछि रक्षा बमलगायत कतिपयले त्यसलाई अस्वीकार गरेका थिए। त्यस्तै आन्दोलनका क्रममा घाइते भएका अभिषेक श्रेष्ठले अस्पतालको शय्याबाटै सुदनप्रति आक्रोश व्यक्त गरेको भिडिओ भाइरल भएको थियो। त्यस्तै मृतकका परिवारले लामो समयसम्म जेनजीको कुनै आधिकारिक नेता देखा नपरेको र सरकार पनि पुरानै राजनीतिक दलका नेताहरूप्रति सहानुभूति राख्न थालेको भन्दै चिन्ता व्यक्त गरिरहेका थिए।

‘यस पृष्ठभूमिमा अविश्वास घटाउन र साझा धारणा बनाउन आवश्यक थियो,’ छलफलमा सहभागी स्रोतले नेपालखबरलाई भन्यो, ‘जेनजीको भावना, सरकारका कारबाही र अबको रोडम्यापका विषयमा आज गहन छलफल भयो। आज धेरै कुरा खुला र पारदर्शी ढंगले सबै पक्षले राखेका छन्। र, सकारात्मक रुपमा छलफल सम्पन्न भएको छ।’

सुरुमा बैठकका एजेन्डा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श श्रेष्ठले राखेका थिए। त्यसपछि विभिन्न समूहका जेनजी प्रतिनिधिहरूले आ–आफ्ना कुरा राखेका थिए। उनीहरूले प्रत्यक्ष कार्यकारीको व्यवस्थाका लागि संविधान संशोधन गर्नुपर्नेदेखि यही संविधानको अक्षरशः पालना गर्नुपर्नेसम्मका कुरा राखेका थिए। फरकफरक समूहका फरकफरक धारणा थिए। सहिद परिवारका सदस्यहरूले पूर्ववर्ती सरकारका प्रधानमन्त्री र मन्त्रीहरूलाई तत्काल जेल हालेर छानबिन अघि बढाउनुपर्नेमा अहिलेसम्म सरकारले त्यसतर्फ कुनै कदम नचालेको, छानबिन आयोगको काम पनि सुस्त बनेको र आयोगका पदाधिकारीबारे सार्वजनिक रुपमा उठाइएका विवादले आगामी प्रक्रिया नै जोखिममा पर्ने हो कि भनेर पनि आशंका व्यक्त गरेका थिए।

अन्तिममा मन्त्रीहरूले आ–आफ्नो तर्फबाट अहिलेसम्म भए–गरेका कामकारबाहीबारे जानकारी गराएका थिए। साथै, उनीहरूले आगामी दिनमा पनि जेनजी विद्रोहको भावनाभन्दा बाहिर नजाने प्रतिबद्धता पनि जनाए। 

‘यसप्रकारका छलफल निरन्तर गर्ने कुरा भएको छ,’ बैठक सकिएपछि एक जेनजी प्रतिनिधिले नेपालखबरसँग भने, ‘हाम्रो मुख्य मुद्दा सुशासन हो। भ्रष्टाचारको अन्त्य हो। भ्रष्टाचारी र आन्दोलनका दमनकारी, घुसपैठिया सबैमाथि निर्मम ढंगले कारबाही होस् भन्ने कुरा स्पष्टसँग राखेका छौँ। हामीले निरन्तर खबरदारी गरिरहनेछौँ।’

बालुवाटारमा भएको छलफलपछि गृहमन्त्री अर्यालले जेनजी प्रतिनिधिलाई साथै राखेर पत्रकार सम्मेलन नै गरेका थिए। उक्त पत्रकार सम्मेलन भने विपद्् व्यवस्थापनमा केन्द्रित थियो। त्यस क्रममा उनले भने, ‘यो सरकार सुशासनका लागि आएको हो। विपद्का बेला मानवीय भावनाका साथ सबै पक्ष सहयोगमा जुटौँ। उद्धार र राहतमा जुटौँ। मान्छेलाई आपत् परेका बेला कमाउने मौका यही हो भन्ने हिसाबले त्यतातिर नलागौँ। योबेला इज्जत र प्रतिष्ठा कमाउने बेला पनि हो। पुरस्कृत हुने बेला पनि हो। पुरस्कृत हुने गरी काम गरौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad