राजनीति


ओलीलाई एमाले बौद्धिक परिषद्को सुझावः महाधिवेशनअघि नै नेतृत्व छाड्नुहोस्

ओलीलाई एमाले बौद्धिक परिषद्को सुझावः महाधिवेशनअघि नै नेतृत्व छाड्नुहोस्

नेपालखबर
असोज १७, २०८२ शुक्रबार १६:५०, काठमाडौँ

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल नेतृत्व छाड्न दबाब बढेको छ।

नेपाल बौद्धिक परिषद्ले ओलीलाई महाधिवेशनअघि नै पार्टीको सत्ता छाड्न आग्रह गरेको खुलासा भएको छ।

परिषदले असोज २ गते बुझाएको तीन पृष्ठ लामो सुझाव पत्रमा ओलीलाई महाधिवेशन नकुरी नेतृत्व छोड्न सुझाव दिएको हो।

असोज १ गते बसेको बौद्धिक परिषद सचिवालय बैठकले वर्तमान परिस्थितिमाथि निर्मम ढंगले समीक्षा गरी पार्टी नेतृत्वलाई सुझाव हस्तान्तरण गरेको जनाएको छ।
परिषद्का अध्यक्ष गजेन्द्रप्रसाद थपलियाले हस्ताक्षर गरेर महासचिव शंकर पोखरेललाई हस्तान्तरण गरेको पत्रमा ओलीलाई नेतृत्व छाड्न सुझाव दिँदै त्यसका लागि महाधिवेशन समेत कुर्न नहुने उल्लेख छ।

सुझावमा केन्द्रीय कमिटीबाटै विधान बमोजिम नेतृत्व हस्तान्तरण गरेर अघि बढ्न भनिएको छ ।

सुझावमा भनिएको छ, ‘विगतमा विभिन्न नेतृत्वदायी भूमिकामा देश र आन्दोलनलाई योगदान गरिसक्नुभएका आदरणीय नेताहरू अभिभावकीय भूमिकामा बसेर नयाँ नेतृत्वलाई आफ्नो सिकाइ र भोगाइका अनुभवबाट प्रेरित र प्रशिक्षित गर्नु उपयुक्त देखिन्छ । पार्टीको नेतृत्व विधिवत हस्तान्तरण गर्न पार्टी महाधिवेशनको आयोजना गर्नु पर्ने र तत्काल सो काम गर्न प्राविधिक रुपमा सम्भव नहुने भएकाले विद्यमान विधानकै अधीनमा गरी कार्यकारी केन्द्रीय कमिटीबाट यथाशीघ्र निर्णय गर्नु उपयुक्त देखिन्छ ।’

असोज १२ गते ओली निवास गुन्डुमा बसेको एमालेको सचिवालय बैठकमा पनि अधिकांश पदाधिकारीले नेतृत्व परित्याग गर्न सुझाव दिएका थिए। 

बैठकमा नेतृत्वसहित संगठनको बारेमा र जेन–जी आन्दोलनमा घटेका, घटाइएका घटना तथा त्यसका परिणामहरूको बारेमा छलफल भएको एक पदाधिकारीले बताएका थिए।

यिनै विषयमा छलफल गर्न एमालेले असोज १९ र २० गते पुनः सचिवालय बैठक बोलाएको छ भने २७, २८ र २९ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ।

आगामी केन्द्रीय कमिटी बैठकबाट महाधिवेशनबारे निर्णय हुन सक्ने ती पदाधिकारीको भनाई छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad