राजनीति


शेखर कोइराला र गगन थापाबीच कांग्रेसको विशेष महाधिवेशनका विषयमा छलफल

शेखर कोइराला र गगन थापाबीच कांग्रेसको विशेष महाधिवेशनका विषयमा छलफल

नेपालखबर
असोज ८, २०८२ बुधबार १९:२६, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र नेता डा शेखर कोइरालाबीच पार्टीको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ। 

दुई नेताबीचको छलफल बुधबार दिउँसो महाराजगञ्जमा भएको हो। छलफलपार्टीको विशेष महाधिवेशन केन्द्रित भएको एक नेताले जानकारी दिए। 

'उहाँहरूबीच आज महाराजगञ्जमा भेट भएको हो। समग्र राजनीति र खास गरी पार्टीको नेतृत्व पुनर्गठनका विषयमा केन्द्रित छलफल भयो,' ती नेताले नेपालखबरसँग भने, 'अब सभापति शेरबहादुर देउवालाई नै नेतृत्वमा राखेर जाँदा पार्टीलाई थप क्षति हुने भन्नेबारे उहाँहरूबीच कुराकानी भयो।' 

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण नेपाली कांग्रेससँगको साझेदारीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर अहिले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार बनेको छ।

यो सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको चुनाव गराउने म्यान्डेट पन‍ि पाएको छ। नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेको विषयमा विरोध जनाइसकेको छ। तर महामन्त्री थापा, कोइराला र अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने फागुन २१ को चुनावमा भाग लिनुपर्ने बताउँदै आएका छन्।  

महामन्त्रीद्वय त यही समयमा पार्टी नेतृत्व पुनर्गठन गर्नुपर्ने पक्षमा छन्। सोहीअनुसारको अभिव्यक्ति पनि लगातार दिइरहेका छन्। थापा र कोइरालासँगै केही सभापति शेरबहादुर देउवा समूहका नेताले विशेष महाधिवेशनको माग राख्दै हस्ताक्षर अभियाननै चलाइसकेका छन्।  

कांग्रेसको नियमित महाधिवेशन आगामी मंसिरमा हुनुपर्ने हो। तर, सदस्यता नवीकरण र नयाँ वितरणको काम नटुंगिएकाले मंसिरमा महाधिवेशन हुने अवस्था छैन। मंसिरमा महाधिवेशन नहुने अवस्था भएपछि विशेष परिस्थिति भएकोले विशेष महाधिवेशन गर्नुपर्ने अडानमा महामन्त्री थापा छन्।

कोइराला, थापा समूहले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान चलाएको विषयमा देउवा समूहका सुदूरपश्चिमका नेताहरूले यस्तो अभियानले पार्टी विभाजन हुने बताएका छन्।  

कांग्रेस विधानमा ४० प्रतिशत केन्द्रीय सदस्य वा महाधिवेशन प्रतिनिधिले कारण खुलाएर विशेष महाधिवेशन माग गरे सभापतिले तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था छ।

२०७८ मंसिरमा भएको कांग्रेसको १४ औं महाधिवेशनमा कोइराला र थापा एकै समूहबाट सभापति र महामन्त्रीको उम्मेदवार थिए। कोइराला देउवासँग पराजित भए भने थापा ६४ प्रतिशत मत ल्याएर निर्वाचित भए। पराजित कोइरालाले ४० प्रतिशत मत ल्याएका थिए।  

उता सभापति देउवा जेनजी आन्दोलनकारीको आक्रमणमा परेर घाइते छन्। आफ्नै निवास बूढानीलकण्ठमा भदौ २४ गते आन्दोलनकारीले तोडफोड र आगजनीसँगै देउवा र उनकी श्रीमती आरजु राणामाथि आक्रमण गरेका थिए। देउवाको टाउकाको पछाडिपट्टी १२ वटा टाँका लगाइएको छ। उनको सचिवालयका अनुसार देउवा दम्पती अझै डिस्चार्ज भएका छैनन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad