नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीले ध्वस्त कान्तिपुर दैनिकको कार्यालय निरीक्षणका लागि पुगेका छन्।
मंगलबार दिउँसो उनले कान्तिपुर दैनिकको ध्वस्त भवनमा पुगेर खरेलले कान्तिपुरका पब्लिकेसनका प्रमुख कैलाश सिरोहियालाई हिम्मत नहारी अगाडि बढ्न आग्रह गरे।
‘हिम्मत नहार्नुहोला, मन्त्रालयको तर्फबाट केही पनि गर्नुपर्यो भने मन्त्रालय आउनुस्। सदैव ढोका खुला छ,' खरेलले सिरोहियालाई भने, 'यहाँहरूलाई लागेको कुरा भन्नुहोला। हामी फेरि उठ्नुछ, उठ्नेछौँ।’
त्यस्तै सिरोहियाले पनि निरीक्षणमा आएर हौसला प्रदान गरेको भन्दै मन्त्री खरेललाई धन्यवाद दिए। ‘तपाईंहरूको यही सहानुभूति र ऐक्यवद्धताले हामीलाई हौसला मिलेको छ। साँच्चिकै भन्नुपर्दा मभन्दा पनि मेरो टीमलाई स्यालुट छ’ उनले भने।
सोमबारमात्रै मन्त्री नियुक्त भएका खरेल आज मन्त्रालयकी सचिव राधिकार अर्याललाई साथमै लिएर कान्तिपुर निरीक्षणका लागि पुगेका हुन्।
Shares

प्रतिक्रिया