राजनीति


मन्त्री बन्ने सूचीबाट संगीताको नाम अचानक काटिनु षड्यन्त्र : निधि

मन्त्री बन्ने सूचीबाट संगीताको नाम अचानक काटिनु षड्यन्त्र : निधि

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि


नेपालखबर
असोज ७, २०८२ मंगलबार १२:५४, काठमाडौँ

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले डा संगीता मिश्रलाई अतिरिक्त सचिवबाट राजीनामा गर्न लगाई मन्त्री बनाउन सिफारिस गरिएकामा पछि षड्यन्त्रपूर्वक उनको नाम काटिएको दाबी गरेका छन्।

गत आइतबार प्रधानमन्त्री सुशीला कार्कीले अन्य ४ मन्त्रीसँगै स्वास्थ्यमन्त्रीका लागि डा संगीताको नाम पनि राष्ट्रपतिकहाँ पठाएकी थिइन्।

तर उनीसँग जोडिएको नागरिकता र अनियमितता विवादमा आवाज उठेपछि शपथ खुवाउने दिन सोमबार उनको नाम हटाइएको थियो।

तर निवर्तमान सांसदसमेत रहेका निधिले यसलाई प्रतिशोध र विभेदपूर्ण निर्णय भएको आरोप लगाएका हुन्। यस्तो षड्यन्त्र कसले गरेको भन्ने कुरा छताछुल्ल भएको दाबीसमेत निधिले गरेका छन्।

तर त्यो को हो त भन्ने कुरा उनलेे खुलाएका छैनन्।

निधिले सामाजिक सञ्जालमा लेखेका छन्, 'पिपरा महोत्तरी निवासी, वर्षौं जेलबसेका लोकप्रिय नेता स्व. रामचन्द्र मिश्रकी बुहारी हुन्- डा. संगीता मिश्र। वैवाहिक नेपाली नागरिक। अतिरिक्त सचिवबाट राजिनामा गर्न लगाएर मन्त्रीको लागि नाम पठाएक‍ोमा अचानक कसले षड्यन्त्र रची नाम कटाएको छताछुल्ल भएको छ। य‍ो प्रतीशोध र विभेदपूर्ण  दुष्कर्म ह‍ो।'

मिश्र प्रसूति तथा स्त्री रोग विशेषज्ञका रूपमा चिनिन्छिन्। उनले स्वास्थ्य सेवा विभाग र थापाथलीस्थित परोपकार प्रसूति अस्पतालको नेतृत्व पनि गरेकी थिइन्।

उनी ३ वर्षदेखि अतिरिक्त सचिव थिइन्। गत वर्ष फागुनमा डा विकास देवकोटा सचिवमा बढुवा भएपछि असन्तुष्टि जनाउँदै उनी बिदामा बसेकी थिइन्। 

मन्त्री बन्ने तारतम्य मिलाएपछि उनले अतिरिक्त सचिव पदबाट राजीनामा दिएकी थिइन्।

उनको नाम काटिएपछि सोमबार अनिलकुमार सिन्हा (उद्योग वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण), महावीर पुन (शिक्षा तथा विज्ञान प्रविधि), मदनप्रसाद परियार (कृषि तथा पशुपन्छी विकास) र जगदीश खरेल (सूचना तथा सञ्चार) ले मात्र शपथ खाएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad