नेपाल बार एसोसियसनका अध्यक्ष डा विजयप्रसाद मिश्रले अनाहक संसद् विघटन गरिएको भन्दै आपत्ति जनाएका छन्।
आइतबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संसद् विघटन गरेर गलत काम गरिएको बताएका हुन्।
ताजा जनादेश पनि संविधानको चौकिल्लाभित्र बसेर, संविधानको धाराभित्र गएर गर्नुपर्ने उनको भनाइ छ।
‘संसद विघटन भएपछि धेरैले आफ्ना कुराहरू राख्नुभयो। नेपाल बार पनि १ बजे राति आफ्नो विज्ञप्ति निकाल्यो। यो संसद् अनाहक विघटन गर्नुहुने थिएन। परिवर्तन आवश्यक थियो,' उनले भने, 'परिवर्तन संविधानभित्रैबाट गर्दा दिगो र दरिलो हुन्छ। मुलुकका शक्तिहरू जो हामी मानि आएका छौँ, ती शक्तिहरू चुनिन्छन्। फ्रेस म्यान्डेट पनि संविधानको चौकिल्लाभित्र बसेर, संविधानको धाराभित्र गएर गर्नुपर्छ भनेर वक्तव्य जारी गरेका थियौँ। आन्दोलनले कुनै संविधान, कानुन मान्दैन तर आन्दोलनको उपलब्धि जगेर्ना गर्नका लागि विधिसम्मत रुपले संविधान र कानुनमा बाँध्नुपर्दछ। नत्र वैधता प्राप्त गर्न सक्दैन।’
उनले फागुन २१ गते नै निर्वाचन हुनेमा बार विश्वस्त रहेको बताए। अहिलेको संसद् निन्द्राको अवस्थामा गएको पनि उनको भनाइ थियो।
Shares

प्रतिक्रिया