राजनीति


पहिलो कूटनीतिक भेटबाट प्रधानमन्त्री कार्कीले दिइन् सन्देश, अस्वस्थताका बीच पुगिन् सिंहदरबार

पहिलो कूटनीतिक भेटबाट प्रधानमन्त्री कार्कीले दिइन् सन्देश, अस्वस्थताका बीच पुगिन् सिंहदरबार

नेपालखबर
भदौ ३१, २०८२ मंगलबार १८:४६, काठमाडौँ

मंगलबार बिहानै प्रधानमन्त्री सुशीला कार्की आँखाको नियमित जाँचका लागि तिलगंगा आँखा प्रतिष्ठान पुगिन्। त्यहाँ वरिष्ठ नेत्र रोग विशेषज्ञद्वय डा सन्दुक रुइत र डा रिता गुरुङले उनको आँखाको परीक्षण गरे। 

आँखाको परीक्षण सकेपछि प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटार फर्केर उनी दिनभरजसो आराम गरिन्। उनलाई चिकित्सकहरूले पनि आराम गर्न सुझाएका थिए। 

उनको देब्रे आँखा धमिलो भई पीसीओ (पोस्टेरिअर क्याप्सुल अप्यासिफिकेसन) भएकाले यसका लागि याग लेजर गरेको डा गुरुङले जानकारी दिएकी थिइन्। यो सामान्यतः मोतीबिन्दु शल्यक्रियापछि हुने जटिलता हो, जसमा आँखाको भित्री भागको क्याप्सुल फेरि धमिलो हुन्छ।

दिनभर आराम गर्ने भनेर बालुवाटारमै बसेकी प्रधानमन्त्री कार्कीलाई भारतीय राजदूत नवीन श्रीवास्तवले भेटका लागि समय मागे। त्यसपछि उनी राजदूत श्रीवास्तवलाई भेट दिन तयार भइन्। ४ बजेका लागि समय मिलाइयो। र, अस्वस्थताका बीच बालुवाटारबाट सिंहदरबार पुगिन्।

प्रधानमन्त्रीका रूपमा यो नै उनको पहिलो कूटनीतिक भेट पनि हो। यस्ता कूटनीतिक भेट कार्यालयमै गर्नु उचित हुने निष्कर्ष पनि कार्की अस्वस्थताका बीच सिंहदरबार पुगेको प्रधानमन्त्री कार्यालय स्रोतको भनाइ छ।  

प्रधानमन्त्री कार्की र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भिडिओ कुराकानीको तालिका बिहीबारको लागि तय भइसकेको छ। यसैको तयारीका लागि भेट्नैपर्ने भनेपछि उनी श्रीवास्तावलाई भेट दिन तयार भएकी हुन्।

आँखाको उपचार गरेकै कारण उनले नियमित लगाउनेभन्दा फरक चस्मा लगाएको तस्बिरमा देख्न सकिन्छ।  
 
भेटका क्रममा श्रीवास्तावले नेपालको विकास र पुन:निर्माणमा भारतले सहयोग गर्ने प्रतिबद्धता पनि जनाए। त्यस्तै उनले नेपालमा शान्ति, सुशासन र स्थिरताको पक्षमा भारत रहेको बताए।

भेटपछि परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जालमा लेखेको छ, ‘राजदूत श्रीवास्तवले नेपालको प्रधानमन्त्रीको रूपमा नियुक्त भएकोमा भारतका माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीको बधाई सन्देश सुनाउनुभयो। र, दुई छिमेकी देशबीचको मित्रता र सहयोगको घनिष्ठ सम्बन्धलाई अझ सुदृढ पार्न सँगै काम गर्ने भारतको प्रतिबद्धता व्यक्त गर्नुभयो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad