जेनजी आन्दोलनका कारण सत्ता खोसिएपछि चिन्तामा रहेका नेकपा एमालेका महासचिव शंकर पोखरेलले अरूलाई दोष दिनुभन्दा गल्तीबाट पाठ सिक्नुपर्ने महसुस गरेका छन्।
हाल फुर्सदमा रहेका उनले डा. भेषबहादुर थापाको ‘राष्ट्र-परराष्ट्र’ पुस्तक पढेपछि गल्ती स्वीकार गरेका हुन्।
थापाको भनाइ उद्धृत गर्दै उनले भनेका छन्, ‘भूतकालमा धेरै भूलहरू भएका हुन सक्छन्। त्यसैलाई केलाउँदै कसैलाई दोषी देखाइरहनुभन्दा त्यसबाट पाठ सिक्नुपर्छ। बुद्धिमान व्यक्ति अरूको भूलबाट सिक्छन्, मध्यम खालका भने आफ्नै भूल गरेपछि मात्र सिक्छन्। अनि आफ्नै भूलबाट नसिक्ने मूर्ख मानिन्छन्।’
एमाले महासचिव पोखरेलले कामको लामो अनुभव सँगालेका थापाको उक्त विचार अहिलेको सन्दर्भमा निकै सान्दर्भिक लागेको उल्लेख गरेका छन्।

प्रधानमन्त्री सुशीला कार्कीले तीन मन्त्री चयन गरेको दिन आइतबार राति एमाले महासचिव पोखरेलले उक्त स्टाटस लेखेका हुन्।
जेनजी आन्दोलनका कारण एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकार ढलेपछि अन्तरिम सरकार प्रमुख बनेकी पूर्वप्रधानन्यायाधीश (गैरसांसद) सुशीला कार्की प्रधानमन्त्री बनेकी छन् भने मन्त्रीहरू पनि धमाधम गैरसांसद बनिरहेका छन् अर्थात् राजनीतिक दल निषेध देखिएको छ।
आज अधिवक्ता एवं अधिकारकर्मी ओमप्रकाश अर्यालले गृहका साथै कानुन, न्याय तथा संसदीय मामिला, पूर्वअर्थसचिव रामेश्वर खनालले अर्थ र कुलमान घिसिङले तीनवटा भौतिक पूर्वाधार तथा निर्माण, ऊर्जा, जलस्रोत तथा सिँचाइ र सहकारी विकास मन्त्रीको शपथ खाँदै छन्।
तत्कालीन ओली नेतृत्वको सरकारले दर्ता नगरिएको भन्दै फेसबुक, एक्स, युट्युबलगायत २६ सामाजिक सञ्जाल बन्द गर्ने निर्णय (भदौ १९ गते) गरेको ३ दिनपछि भदौ २३ गते जेनजी (नवयुवा पुस्ता) ले काठमाडौँसहित देशका विभिन्न सरहरमा प्रदर्शन गरेको थियो।
त्यस क्रममा सरकारले दमन गर्दा प्रहरीको गोली लागेर काठमाडौँको बानेश्वरमा १७ जना र विराटनगरमा २ जना आन्दोलनकारी मारिएका थिए भने सयौँ घाइते भएका थिए।
त्यसपछि भोलिपल्ट भदौ २४ गते उग्र बनेका प्रदर्शनकारीले नेताका घर, सार्वजनिक संस्था, व्यापारिक प्रतिष्ठान मात्र होइन, संसद् भवन, सिंहदरबार र सर्वाेच्च अदालतसमेत जलाइदिए। घरभित्रै पसेर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दम्पती नै कुटिएपछि बाध्य भएर ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।
जेनजी आन्दोलनले यति भयानक रूप लिएको थियो कि प्रधानमन्त्रीसहित शीर्ष नेताहरूलाई नेपाली सेनाले सुरक्षित स्थानमा लगेर राख्नुपरेको थियो।
देश सरकारविहीन भएपछि प्रधानसेनापति अशोकराज सिग्देलको सहजीकरणमा जेनजी आन्दोलनका प्रतिनिधिसँग लामो वार्तापछि राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते राति पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तिरम प्रधानमन्त्रीमा नियुक्ति गर्दै उनकै सिफारिसबमोजिम संसद् (प्रतिनिधि सभा) विघटन गर्दै फागुन २१ गतेका लागि प्रतिनिधि सभा सदस्य निर्वाचन घोषणा गरेका हुन्।
जेनजी आन्दोलनमा ७२ जनाको मृत्यु भएको अन्तरिम सरकारले जनाएको छ। अझै कैयौँ घाइते अस्पतालको शय्यामा छन्।
Shares

प्रतिक्रिया