राजनीति


कार्की आइतबार सिंहदरबार प्रवेश गर्ने, कस्तो रह्यो पहिलो महिला प्रधानमन्त्रीको पहिलो दिन?

कार्की आइतबार सिंहदरबार प्रवेश गर्ने, कस्तो रह्यो पहिलो महिला प्रधानमन्त्रीको पहिलो दिन?

नेपालखबर
भदौ २८, २०८२ शनिबार २२:३९, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्की आइतबार मात्र सिंहदरबार प्रवेश गर्ने भएकी छन्। उनी बिहान ११ बजे कार्यकक्ष प्रवेश गरी कार्यालयको काम सम्हाल्ने तयारी भएको छ।

गृह मन्त्रालयका लागि बनाइएको नयाँ भवनमा उनले कार्यभार सम्हाल्नेछिन्। 

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष एक समारोहका बीच पथ ग्रहण गरेर राति अबेर बालुवाटार फर्किएकी उनी आज बिहान सबेरैदेखि राजकाजमा सक्रिय भइन्।

उनले आज बिहानै जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेहरुको शव व्यवस्थापन र पीडित परिवारलाई तत्काल राहतका विषयमा सरकारी अधिकारीहरुसँग छलफल गरिन्। त्यस्तै क्षतिग्रस्त संरचनाहरुको विवरण लिइन्। र, आगामी व्यवस्थापनका विषयमा गरिएका तयारीबारे पनि जानकारी लिइन्।

मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी, अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्यायलगायतलाई बालुवाटारमै बोलाइन्। शान्ति सुरक्षा, अर्थतन्त्र र सरकारी कोषको अवस्थाबारे पनि जानकारी लिइन्। अनि कतै पनि सरकारविहीनताको अवस्था हुन नदिन सबैलाई निर्देशन दिइन्।

दिउँसो उनी विभिन्न अस्पतालमा रहेका आन्दोलनका घाइते तथा प्रहरी कर्मचारीको अवस्था बुझ्न निस्किइन्। राष्ट्रिय ट्रमा सेन्टर, निजामती कर्मचारी अस्पताललगायत विभिन्न अस्पतालमा रहेका घाइतेको अवस्था बुझिन्। प्रत्येक घाइतेको स्वास्थ्य अवस्था मात्र बुझिनन्, उनीहरुको कुरा पनि सुनिन्। 

त्यसक्रममा उनले घाइतेलाई शान्त्वना दिइन्। भएको क्षतिप्रति दुःख व्यक्त गरिन्। अनि जेनजी आन्दोलनका लागि ज्यानको बलिदानी दिन मैदानमा उत्रिएका प्रत्येक युवाको भावनाभन्दा बाहिर नजाने वाचा गरिन्।

घाइतेहरुले कार्कीलाई पहिलो महिला प्रधानमन्त्री भएर जसरी इतिहासमा नाम लिएको छ, त्यसै गरी जेनजीको भावनाअनुसार काम गरी अर्को इतिहास रच्न शुभकामना दिए। 

‘आन्दोलनले जुन जिम्मेवारी र म्यान्डेट दिएको छ, त्यो पूरा गरेर इतिहासमा स्वर्णिम अक्षरले नाम लेखिने गरी काम गर्न सफलता मिलोस्, हाम्रो शुभकामना छ,’ ट्रमा सेन्टरको शय्याबाट एक जना घाइतेले भने।

जवाफमा प्रधानमन्त्री कार्कीले भनिन्, ‘अहिले मलाई कसैले बधाइ नभनोस्। मेरो कार्यकाल सकिएको भोलिपल्ट मात्र कामका आधारमा मूल्यांकन होस्।’

घाइतेले भने, ‘तीन करोड नेपालीको आमा र अभिभावकका रुपमा काम गर्नुहोला।’

कार्कीले भनिन्, ‘तपाईँ पनि मेरो छोरा हो। 

अस्पतालबाट उनी प्रदर्शनकारीले तोडफोड र आगजनी गरिदिएको कोटेश्वर प्रहरी प्रभाग र महराजगन्ज प्रहरी वृत्तमा गएर प्रहरी कर्मचारीका पीडा सुनिन्। भदौ २४ गतेको प्रदर्शनका दौरान कोटेश्वरमा दुई र महाराजगन्जमा एक जना प्रहरी कर्मचारीले ज्यान गुमाएका थिए।

त्यहाँबाट बालुवाटारस्थित निवासमा फर्किएर उनले फेरि विभिन्न पक्षसँग भेटघाट र परामर्शको क्रमलाई निरन्तरता दिइन्। केहीबेर अघिसम्म पनि उनी छलफलमै व्यस्त थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad