नेकपा माओवादी केन्द्रका नेता सुदन किराँतीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की चोरबाटोबाट प्रधानमन्त्री बनेको टिप्पणी गरेका छन्।
जेनजी आन्दोलनका कारण केपी ओली शर्मा नेतृत्वको सरकार ढलेपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्ति गरेका हुन्। संविधानमा सांसद मात्र प्रधानमन्त्री बन्ने व्यवस्था छ। तर गैरसांसद कार्कीलाई सोझै प्रधानमन्त्री बनाइएपछि संवैधानिक प्रश्न उठेको हो।
पूर्वमन्त्रीसमेत रहेका किराँतीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘चोर बाटोबाटै भए पनि प्रधानमन्त्री सुशीला कार्की नियुक्ति हुनुभएकोमा बधाई छ। अब जेन-जी आन्दोलनको भावनालाई कार्यान्वयन गर्नको लागि भ्रष्टाचार छानबिनसम्बन्धी उच्चस्तरीय न्यायिक आयोग गठन गरिनुपर्छ। साथै यो आन्दोलनको क्रममा भएका नरसंहार र विध्वंसबारे छानबिन गर्न अर्को उच्च स्तरिय न्यायिक आयोग पनि गठन हुनुपर्छ। तर गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशी यी चारखम्बे चरित्र भएको संविधानले दलित, महिला, जनजाति, मधेसी र मुस्लिम आदि समुदाय र क्षेत्रलाई अधिकार सम्पन्न बनाएको छ। यसलाई तलमाथि नगरियोस्। यदि तलमाथि गर्नु भयो भने फेरि परिणाम गम्भीर हुनेछ।’
Shares

प्रतिक्रिया