राजनीति


जेनजी अगुवा सुदनले प्रधानमन्त्री सुशीलालाई खुट्टामै ढोगेको तस्बिर भाइरल भएपछि...

जेनजी अगुवा सुदनले प्रधानमन्त्री सुशीलालाई खुट्टामै ढोगेको तस्बिर भाइरल भएपछि...

नेपालखबर
भदौ २८, २०८२ शनिबार २०:२८, काठमाडौँ

केपी ओली नेतृत्वको सरकार ढाल्दै एकाएक नयाँ नागरिक सरकार गठनको अवस्थासम्म मुलुकलाई ल्याइपुर्‍याउने जेनजी आन्दोलनका अगुवा भनेर चिनिएका सुदन गुरुङको एउटा तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

तस्बिरमा उनले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई घुँडा टेकेर खुट्टामा ढोगिरहेका छन्। जुन तस्बिर शुक्रबार राति राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्री कार्कीले शपथ खाएको बेलाको हो, जहाँ सुदन पनि पुगेका थिए। 

त्यस क्रममा उनले प्रधानमन्त्रीको खुट्टैमा शिर पुर्‍याएर ढोगेका हुन्। अहिले उक्त तस्बिरका विषयमा सामाजिक सञ्जालमा चर्चा भइरहेको छ। 

कतिपयले हिजो केपी ओलीलाई ‘बा’ बनाए आज सुशीला कार्कीलाई ‘आमा’ बनाउँदै छन् भनेर टिप्पणी गरिरहेका छन्। 

पूर्वविद्यार्थी नेता आरती लामा सामाजिक सञ्जालमा लेख्छिन्, ‘मान्छेलाई मान्छे बन्न देऊ यार, कसैको देवत्वकरण नगर।’

उनले अगाडि लेखेकी छन्, ‘फेरि पनि भन्छु- जेनजीको नेतृव गर्ने साथी सुदन गुरुङको संस्कारप्रति मेरो कुनै शंका होइन, सम्मान छ। तर प्लिज हामीजस्तै झोले नबनिदिनुहोला।’

जेनजी आन्दोलनका कारण ओली नेतृत्वको सरकार विस्थापन भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन गरेका हुन्। साथै नवगठित मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधि सभा विघटन गरी फागुन २१ गतेका लागि चुनाव पनि घोषणा गरिसकेका छन्। 

भ्रष्टाचारविरुद्धको जेन-जी प्रदर्शनले ठूलो विद्रोहको रूप लिएपछि नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका हुन्। जेन-जीले पहिलो दिन भदौ २३ गते काठमाडौँसहित देशका विभिन्न सहरमा गरेको प्रदर्शनमा ओली नेतृत्वको तत्कालीन सरकारले दमन गर्दा १९ जना युवा मारिएका थिए।

तर पनि पदमा टाँसिइरहेका ओली भोलिपल्ट प्रदर्शनकारीले संसद् भवन, सर्वोच्च अदालत र सिंहदरबारमा समेत आगो लगाउँदै घरघरमा पसेर नेता कुट्न थालेपछि राजीनामा दिन विवश भएका थिए।

जेन-जी आन्दोलनमा हालसम्म मृत्यु हुनेको संख्या ५१ पुगिसकेको छ भने अझै कैयौँ घाइते अस्पतालको बेडमा छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad