राजनीति


जेनजीका अगुवा सुदनको संस्था ‘हामी नेपाल’ले भन्यो: देशको उद्धार गरेकामा प्रधानसेनापतिलाई सलाम

जेनजीका अगुवा सुदनको संस्था ‘हामी नेपाल’ले भन्यो: देशको उद्धार गरेकामा प्रधानसेनापतिलाई सलाम

प्रधानसेनापति अशोकराज सिग्देल र जेनजीका अगुवा सुदन गुरुङ


नेपालखबर
भदौ २८, २०८२ शनिबार १०:३३, काठमाडौँ

जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङ नेतृत्वको ‘हामी नेपाल’ संस्थाले देशमा नयाँ सरकार गठन भएपछि नेपाली सेनाप्रति आभार प्रकट गरेको छ। 

संस्थाले विज्ञप्ति जारी गरी सम्पूर्ण नेपालीका तर्फबाट नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई समर्थन र सहयोगका लागि धन्यवाद दिएको हो। 

‘हामी सम्पूर्ण नेपालीको तर्फबाट नेपाली सेना र सेनापति अशोकराज सिग्देलज्यूलाई उहाँको अदम्य समर्थन, समर्पण र देशभक्तिपूर्ण सेवाप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘देशको हितको लागि, संयमता र साहसको विन्दु बनी, देशको कठिन समयमा देशलाई उद्धार गर्नुभएकोमा हजुरहरूलाई तहदिल धन्यवाद। हामी नेपाल र जेन-जेड रिभोलुसनतर्फबाट नेपाली सेना र सेनापति अशोकराज सिग्देलज्यूलाई हार्दिक सलाम। हामी नेपालीहरू सधैँ नेपाली सेनाप्रति ऋणी रहनेछौँ।’

जेनजी आन्दोलनकै कारण केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापन भएपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति मात्र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ अन्तरिम सरकार गठन गरेका छन्। साथै प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधि सभा विघटन गरी फागुन २१ गतेका लागि चुनाव पनि घोषणा गरेका छन्। 

भ्रष्टाचारविरुद्धको जेन-जी प्रदर्शनले ठूलो विद्रोहको रूप लिएपछि नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका हुन्। जेन-जीले पहिलो दिन भदौ २३ गते काठमाडौँसहित देशका विभिन्न सहरमा गरेको प्रदर्शनमा ओली नेतृत्वको तत्कालीन सरकारले दमन गर्दा १९ जना युवा मारिएका थिए।

तर पनि पदमा टाँसिइरहेका ओली भोलिपल्ट प्रदर्शनकारीले संसद् भवन, सर्वोच्च अदालत र सिंहदरबारमा समेत आगो लगाउँदै घरघरमा पसेर नेता कुट्न थालेपछि राजीनामा दिन विवश भएका थिए।

जेन-जी आन्दोलनमा हालसम्म मृत्यु हुनेको संख्या ५१ पुगिसकेको छ भने अझै कैयौँ घाइते अस्पतालको बेडमा छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad