राजनीति


प्रधानमन्त्री नियुक्तिपछि संसद् विघटनमा बाबुरामको प्रतिक्रिया : दोस्रो राम्रो विकल्प यही हो

प्रधानमन्त्री नियुक्तिपछि संसद् विघटनमा बाबुरामको प्रतिक्रिया : दोस्रो राम्रो विकल्प यही हो

नेपालखबर
भदौ २८, २०८२ शनिबार १०:१, काठमाडौँ

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष बाबुराम भट्टराईले आफूहरूले भनेबमोजिम नभए पनि प्रधानमन्त्री नियुक्ति र स‌ंसद् विघटन दोस्रो राम्रो विकल्प भएको बताएका छन्। 

लामो छलफलपछि राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार राति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्ति गर्दै नवगठित सरकारको सिफारिसबमोजिम संसद् विघटन गराइसकेका छन्। 

‘हामीले भनेबमोजिम उत्तम नभए पनि दोस्रो राम्रो विकल्प यही हो। जेन-जी विद्रोहपछिको नयाँ परिस्थितिमा आन्दोलनकारीहरूसँग सहमति गरेर आकस्मिक संसद् बैठकबाट संविधानमा संशोधनसहित नयाँ प्रमको नियुक्ति र नयाँ प्रमको सिफारिसमा संसद् विघटन गरेर नयाँ निर्वाचनमा जान पाएको भए उत्तम हुन्थ्यो। त्यो आन्दोलनकारीहरूले नमानेपछि र पुराना दलहरूले पनि आलटाल गर्ने सम्भावना भएपछि दोसो राम्रो विकल्प यही हो’, शनिबार बिहान विज्ञप्ति जारी गरी भट्टराईले भनेका छन्। 

‘अर्थात् राष्ट्रपतिले राष्ट्रध्यक्षको रूपमा संविधानले सामान्यतः दिने (भलै संविधानमा प्रस्ट छैन!) अधिकार र जिम्मेवारी प्रयोग गर्दै पहिले संसद्‌बाहिरबाट नयाँ प्रम नियुक्त गर्ने र शपथग्रहणपछि नयाँ प्रमले सिफारिस गरेबमोजिम राष्ट्रपतिले नयाँ निर्वाचन र संसद्‌को विघटन सँगसँगै गर्ने विधि नै दोस्रो राम्रो विधि हो। मैले पनि सम्बन्धित सबै पक्षलाई यही सुझाव दिएको थिएँ’, उनले थपेका छन्। 

यो नेपाली इतिहासको अर्को महत्त्वपूर्ण मोड भएको उल्लेख गर्दै अग्रगामी वैकल्पिक राजनीति पक्षधर सबैले यसलाइ ठिकसँग ग्रहण गर्न र नयाँ वैकल्पिक राजनीतिक बृहत् ध्रुवीकरणमा लाग्न उनले अपिलसमेत गरेका छन्।

प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले प्रतिनिधि सभा विघटन गरी फागुन २१ गतेका लागि चुनाव घोषणा गरेका छन्। 

भ्रष्टाचारविरुद्धको जेन-जी प्रदर्शनले ठूलो विद्रोहको रूप लिएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदबाट राजीनामा दिन बाध्य भएका थिए। उनको बहिर्गमनसँगै मुलुकमा नयाँ अन्तरिम सरकार गठन गरिएको हो।  

जेन-जीले पहिलो दिन भदौ २३ गते काठमाडौँसहित देशका विभिन्न सहरमा गरेको प्रदर्शनमा ओली नेतृत्वको तत्कालीन सरकारले दमन गर्दा १९ जना युवा मारिएका थिए।

तर पनि पदमा टाँसिइरहेका ओली भोलिपल्ट प्रदर्शनकारीले संसद् भवन, सर्वोच्च अदालत र सिंहदरबारमा समेत आगो लगाउँदै घरघरमा पसेर नेता कुट्न थालेपछि राजीनामा दिन विवश भएका थिए।

जेन-जी आन्दोलनमा हालसम्म मृत्यु हुनेको संख्या ५१ पुगिसकेको छ भने अझै कैयौँ घाइते अस्पतालको बेडमा छन्।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad