राजनीति


संसद् विघटनको विरोध गर्दै नेपाल बारले भन्यो : ‘स्वेच्छाचारी र असंवैधानिक’

संसद् विघटनको विरोध गर्दै नेपाल बारले भन्यो : ‘स्वेच्छाचारी र असंवैधानिक’

राष्ट्रपति रामचन्द्र पौडेल र नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की


नेपालखबर
भदौ २८, २०८२ शनिबार ८:५६, काठमाडौँ

कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले संसद् (प्रतिनिधि सभा) विघटन ‘स्वेच्छाचारी र असंवैधानिक’ भन्दै भर्त्सना गरेको छ। 

शुक्रबार राति पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्रीमा नियुक्ति गरेपछि उनकै सिफारिसबमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा भंग गराएका हुन्।

उक्त कदम संवैधानिक सर्वोच्चता एवं संविधानवाद समेतको प्रत्यक्ष विपरीत रहेको ठहर बार एसोसिएसनले गरेको छ।

बारका अध्यक्ष डा. विजयप्रसाद मिश्र र महासचिव केदारप्रसाद कोइरालाको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ,  ‘प्रतिनिधिसभा विघटन गरी नयाँ सरकार बनाउने गरी राष्ट्रपतिबाट मिति २०८२ साल भाद्र २७ गते भएको निर्णय स्वेच्छाचारी र असंवैधानिक रहनुका साथै कानुनको शासन, संवैधानिक सर्वोच्चता एवं संविधानवाद समेतको प्रत्यक्ष विपरीत रहेको निष्कर्षसहित यस कदमको कडा भर्त्सना गर्दछ। ’

यो कदम नेपाली जनताले लोकतन्त्रका लागि गरेको लामो र कठिन संघर्षलाई गम्भीर रूपमा कमजोर पार्ने र लोकतन्त्र, गणतन्त्र र समावेशितासहितको संघियता जस्ता उपलब्धिलाई खोस्नेतर्फ लक्षित रहेको दाबी बारले गरेको छ। 

‘नेपालको वर्तमान संविधान राष्ट्रिय सहमतिको बृहत् परिणाम हो र यसले यहाँका नागरिकहरूको आकांक्षालाई प्रतिबिम्बित गर्दछ। प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको कदम सर्वोच्च अदालतको यसअघिको संसद् पुनर्स्थापनासम्बन्धी निर्णय विपरीतसमेत छ’, बारले विज्ञप्तिमार्फत भनेको छ, ‘लोकतन्त्र, विधिको शासन, न्यायपालिकाको स्वतन्त्रता र मानव अधिकारको एक सचेत पहरेदारको रूपमा नेपाल बार एसोसिएसन यस कार्यको घोर भर्त्सना गर्दछ। यस्ता कार्यहरूले लोकतान्त्रिक संस्थाहरुमाथिको जनविश्वास घटाउँछ र हाम्रो संवैधानिक व्यवस्थाको जगलाई नै खतरामा पार्छ।’

साथै बारले लोकतन्त्रको तत्काल पुनर्स्थापना र संवैधानिक सर्वोच्चताको अटल पालनाका लागि जोडदार माग गर्दै सरोकारवाला सबैलाई संविधानमा निहित जनचाहनाको सम्मान गर्न र कठिन संघर्षबाट प्राप्त लोकतान्त्रिक उपलब्धिलाई अस्थिर बनाउन सक्ने कुनै पनि कार्यबाट सचेत रहन आह्वान पनि गरेको छ। 

बारले अगाडि भनेको छ, ‘नेपाल बार एसोसिएसन संविधानको संरक्षणका लागि आफ्नो प्रतिबद्धतामा अडिग छ। नेपाल बार एसोसिएसन कुनै पनि बहानामा यस्तो पश्चगामी कदमलाई अस्वीकार गर्दछ। यस परिवेशमा संविधानको अक्षरशः पालना गर्न गराउन र नेपाली जनताको बलिदानीपूर्ण इतिहासको रक्षाका लागि नेपाल बार एसोसिएसन कुनै पनि कदम चाल्नको लागि तयार भई यस कायमा सहकार्यको लागि आम जनसमुदायमा आह्वान समेत गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad