राजनीति


राष्ट्रपतिलाई ‘पापड’ को ७ बुँदे ध्यानाकर्षण: नागरिक सर्वोच्चताविपरीत गतिविधि भए प्रतिरोध

राष्ट्रपतिलाई ‘पापड’ को ७ बुँदे ध्यानाकर्षण: नागरिक सर्वोच्चताविपरीत गतिविधि भए प्रतिरोध

नेपालखबर
भदौ २७, २०८२ शुक्रबार १६:२७, काठमाडौँ

शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) ले राष्ट्रपति रामचन्द्र पौडेललाई वर्तमान राष्ट्रिय संकटको निकास सम्बन्धमा ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।

उक्त पत्रमा संविधान र संघीय संसद क्रियाशील रहेको, जेनजी युवाहरूको माग संविधान वा व्यवस्था परिवर्तन नभएकोले, संवैधानिक संरचनाहरूको यथावत् क्रियाशीलताका लागि राष्ट्रपतिबाट संवैधानिक कर्तव्य निर्वाहका लागि अनुरोध गरिएको छ। 

यस्तै, नागरिक सर्वोच्चता तथा विधिको शासन विपरित कुनै गतिविधि भए प्रतिरोध गर्ने चेतावनीसमेत दिइएको छ।

यस्तो छ पापडको ध्यानकर्षण पत्र
संवैधानिक सर्वोच्चता, विधिको शासन तथा लोकतान्त्रिक मूल्य-मान्यताको प्रवर्धन र संरक्षणमा क्रियाशील शान्ति र लोकतन्त्रका लागि पेशागत सञ्जाल (पापड) का हामी सदस्य संस्थाहरू (नेपाल चिकित्सक संघ, नेपाल शिक्षक महासंघ, नेपाल बार एसोसिएसन, नेपाल इन्जिनियर्स एसोसिएसन, नेपाल प्राध्यापक संघ, र नेपाल पत्रकार महासंघ) वर्तमान राष्ट्रिय संकट प्रति राष्ट्रपतिज्यूको गम्भीर ध्यानाकर्षण गराउँछौं। युवा पुस्ताको परिवर्तन, भ्रष्टाचारमुक्त सुशासन र राजनीतिमा पुस्तान्तरणको मागप्रति हाम्रो पूर्ण ऐक्यबद्धता छ।

आन्दोलनमा भएको घुसपैठले भएको धनजनको क्षतिप्रति हामी दुःखी छौं, मृतकप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं। देशलाई गहिरो संकटतर्फ धकेलिरहेका राजनीतिक तथा संवैधानिक जटिलताहरूले लोकतन्त्र, गणतन्त्र र संघीयता जस्ता उपलब्धिहरूमाथि प्रश्नचिह्न खडा गर्ने जोखिम बढेको छ। संविधानको मर्मभित्रै समाधान खोजिनुपर्छ भन्ने हाम्रो दृढ मान्यता छ। युवा पुस्ताको माग सम्बोधन तथा लोकतन्त्रको रक्षाका लागि निम्न बमोजिम कदम चाल्न (पापड) आग्रह गर्दछः

१) संविधान र संघीय संसद क्रियाशील रहेको, जेन्जी युवाहरूको माग संविधान वा व्यवस्था परिवर्तन नभएकोले, संवैधानिक संरचनाहरूको यथावत् क्रियाशीलताका लागि राष्ट्रपतिज्यूबाट संवैधानिक कर्तव्य निर्वाहका लागि हार्दिक अनुरोध गर्दछौं।

२) जेन्जी युवाहरूले सरकार परिवर्तन चाहेको र प्रक्रिया प्रारम्भ भइसकेकोले, जेन्जी युवाहरूको मागको मर्म र संविधानको मर्मअनुसार संवैधानिक वैधताको निरन्तरता कायम रहने गरी अविलम्ब राष्ट्रिय सरकार गठनको प्रक्रिया शीघ्र प्रारम्भ गर्न अपील गर्दछौं।

३) संवैधानिक सर्वोच्चता, विधिको शासन र स्वतन्त्र न्यायपालिकाका पक्षधर नागरिक संस्थाका रूपमा संवैधानिक वैधता, अन्तर्राष्ट्रिय सन्धि सम्झौता र लोकतान्त्रिक मूल्यमान्यता विपरीतका कुनै पनि प्रक्रिया हामीलाई मान्य नहुने र अन्यथा भएमा हामी प्रतिरोध गर्न बाध्य हुनेछौं।

४) देशमा व्याप्त अनिश्चितता अन्त्य गरी शासन व्यवस्था सुचारु र जनतामा विश्वास जगाउन संविधानको मर्मभित्र रही संवैधानिक प्रक्रियाबमोजिम यथाशीघ्र एक सक्षम राष्ट्रिय सरकार गठन गरियोस्।

५) लोकतन्त्र, गणतन्त्र, संघीयता, समानुपातिक समावेशी जस्ता दीर्घ संघर्षबाट प्राप्त र संविधानमा लिपिबद्ध मूलभूत उपलब्धिहरूमाथि कुनै पनि बहानामा सम्झौता गरिनु हुँदैन। यी राष्ट्रिय पहिचानका आधारस्तम्भको रक्षा राष्ट्रपतिज्यूबाट हुनेछ भन्ने पापडको विश्वास छ।

६) सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्था युवा पुस्ताको जायज माग हो। यो माग भूराजनीतिको चपेटामा परेमा देश अन्धकारतर्फ जानुका साथै सार्वभौमसत्तामा आँच आउने खतरा छ। तसर्थ, बाह्य शक्तिको चलखेल र गैरनागरिक सरकार गठनको खतराप्रति सजग रहन हार्दिक अनुरोध गर्दछौं।

७) वर्तमान सङ्कटको निकाशको लागि सरोकारवालाहरू सँग समन्वय र आवश्यक सहजीकरणको लागि हामी तत्पर रहेको समेत अवगत गराउदछौं।

अतः, देशलाई गम्भीर संकटबाट जोगाउन, संविधानको रक्षा गर्न, गणतान्त्रिक संघीय समावेशी संविधानलाई जीवन्त राख्न र वर्तमान संकटको संवैधानिक निकासका लागि संवैधानिक अभिभावक र संरक्षकका रूपमा राष्ट्रपतिज्यूबाट तत्काल आवश्यक कदम चालियोस् भनी पापड हार्दिक अपील गर्दछ।
धन्यवाद ज्ञापन सहित

डा अनिल विक्रम कार्की, अध्यक्ष, नेपाल चिकित्सक संघ 
वअ प्राडा विजय प्रसाद मिश्र, अध्यक्ष, नेपाल बार एसोसिएसन 
निर्मला शर्मा, अध्यक्ष, नेपाल पत्रकार महासंघ
प्राडा रमेश कुमार जोशी, अध्यक्ष, नेपाल प्राध्यापक संघ 
लक्ष्मी किशोर सुवेदी, अध्यक्ष, नेपाल शिक्षक महासंघ, 
इन्जिनियर सुवास चन्द्र बराल, अध्यक्ष, नेपाल इन्जिनियर्स एशोसिएसन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad