राजनीति


सभामुख र राष्ट्रिय सभा अध्यक्षको वक्तव्य: राष्ट्रपति संवैधानिक प्रक्रियाबाटै निकास दिने पहलमा छन्, बाहिर जानुहुँदैन

सभामुख र राष्ट्रिय सभा अध्यक्षको वक्तव्य: राष्ट्रपति संवैधानिक प्रक्रियाबाटै निकास दिने पहलमा छन्, बाहिर जानुहुँदैन

नेपालखबर
भदौ २७, २०८२ शुक्रबार १३:११, काठमाडौँ

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले राष्ट्रपतिले संवैधानिक प्रक्रियाबाटै निकास दिन पहल गरिरहेको जनाएका छन्।

शुक्रबार उनीहरू दुवैले संयुक्त वक्तव्य जारी गरी आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन अपिल पनि गरेका छन्।

संविधानवादबाट बाहिर जान नहुने उनीहरूको राय छ।

विज्ञप्तिमा उनीहरूले लेखेका छन्, ‘देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता‚ नागरिक स्वतन्त्रता‚ भौगोलिक अखण्डता‚ राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन सम्माननीय राष्ट्रपतिज्यूले पहल गरिरहनुभएको छ। यस सन्दर्भमा विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन भन्नेमा हामी दृढ छौँ। आन्दोलनरत पक्षका मागहरु सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन हामी सबैलाई अपिल गर्दछौँ।’

पूरा विज्ञप्ति यस्तो छ-
यही मिति २०८२ भदौ २३ र २४ गते भएको जेन-जेड (Gen-Z) हरूको आन्दोलनका क्रममा भएको जनधनको क्षतिले हामीलाई स्तब्ध बनाएको छ। आन्दोलनको क्रममा आफ्नो ज्यान गुमाउनु हुने सबै युवाहरू तथा कर्तव्य निर्वाहको क्रममा ज्यान गुमाउनु हुने राष्ट्रसेवक प्रहरीहरूमा हार्दिक श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। साथै आन्दोलनका क्रममा घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन राज्यका सम्बन्धित संयन्त्रहरूलाई विशेष आग्रह गर्दछौँ।

२०८२ भदौ २४ गते बानेश्वरस्थित संघीय संसद भवन, सिंहदरबारस्थित संघीय संसद सचिवालय लगायत विभिन्न सरकारी कार्यालयहरू, सरकारी तथा निजी आवासहरू, सञ्चार गृहहरू, व्यापारिक प्रतिष्ठान एवम् सार्वजनिक सम्पत्ति तथा ऐतिहासिक दस्तावेजहरू नष्ट हुने गरि भएको आगजनी र तोडफोडले मर्माहत बनाएको छ। संघीय संसद भवन तथा सचिवालय र देशभरि भएको आगजनीले देशलाई अपुरणीय क्षति भएको छ।

देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता‚ नागरिक स्वतन्त्रता‚ भौगोलिक अखण्डता‚ राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन सम्माननीय राष्ट्रपतिज्यूले पहल गरिरहनुभएको छ। यस सन्दर्भमा विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन भन्नेमा हामी दृढ छौँ। आन्दोलनरत पक्षका मागहरु सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन हामी सबैलाई अपिल गर्दछौँ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad