राजनीति


आफ्नो पक्षमा माहोल बनाउने हर्कको प्रयासः सडकमा युवा परिचालन, दर्जनौँ स्ट्याटस र भिडिओ सेयर

आफ्नो पक्षमा माहोल बनाउने हर्कको प्रयासः सडकमा युवा परिचालन, दर्जनौँ स्ट्याटस र भिडिओ सेयर

नेपालखबर
भदौ २६, २०८२ बिहिबार १८:५, विराटनगर

धरान उपमहानगर पालिकाका मेयर हर्क राई (साम्पाङ) अहिले काठमाडौँमा छन्। बुधवार बिहान धरानबाट प्रधानमन्त्री बन्ने भन्दै  काठमाडौँ हिँडेको जानकारी गराएका मेयर राई अहिले काठमाडौँमा युवाहरूको जुधाउने काममा सक्रिय छन्। 

उनले जेनजी आन्दोलनमा आफ्नो भूमिका रहेको भन्दै आफूलाई देशको नेतृत्व दिनु पर्ने माग सहित युवाहरूलाई उत्तेजित बनाउने तथा भिडाउँदै आएका छन्। नेतृत्वमा कसलाई लग्ने भन्ने विषयमा छलफल सुरु भएपछि राईले आफू प्रधानमन्त्री बन्न तयार रहेको भन्दै निरन्तर  प्रधानमन्त्री बन्ने दाबी सार्वजनिक गर्दै आएका थिए। 

‘युवा हो‍‍... खबरदारी गर्नु, गरिरहनु! परिवर्तन भनेको पात्र होइन प्रवृत्ति फेर्ने, प्रणाली फेर्ने कृत्य हो! लर्तरो होइन दह्रो पात्र चाहिन्छ! दमदार नेतृत्व चाहिन्छ देशलाई! विदेशीले फुक्दा लडिजाने व्यक्ति नचुन्नु है! अटेरी मान्छे चुन्नु पर्छ! देश लरखराएको बेला लुरे झुम्रे नचुन्नु!’ राईले बिहीबार दिउँसो सार्वजनिक गरेका स्ट्याटस हो।

यो सार्वजनिक गर्न भन्दा पहिला उनका समर्थक र सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउनु पर्छ भन्ने जेनजी युवा समर्थकबीच सैनिक मुख्यालय अगाडी नै हानाहान भएको थियो।  यो क्रम आज मात्रै भएको छैन, बुधवार साँझ देखि नै समस्या देखिँदै आएको छ।  

धरानबाट बुधबार बिहान सरकारी गाडी चढेर काठमाडौँ पुगेका मेयर राई त्यहाँ पुग्ने बित्तिकै सैनिक मुख्यालय अगाडी पुगेका थिए। त्यहाँ पुग्ने बित्तिकै युवाहरू तीन भागमा विभाजित भइसकेका थिए। एउटा जेनजी समूह न्युट्रल थियो भने एउटा समूह सुशीला कार्की र अर्को समूह हर्क साम्पाङका समर्थक थिए।

जेनजी समूहले सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रमुख बनाउने विषय सार्वजनिक गरेसँगै हर्क साम्पाङका समर्थकहरूले सैनिक मुख्यालय अगाडी राति नै राजाबाजी गरेका थिए। मेयर राईले आफ्ना समर्थकहरूले सार्वजनिक गरेका भिडियोहरू निरन्तर सेयर गर्दै आएका छन् । 

उनले यो १० घण्टाको बिचमा ३७ पटक स्ट्याटस तथा भिडियोहरू सेयर गरेर आफ्नो पक्षमा युवाहरूलाई उचाल्ने काम गरेका छन्। उनले पछिल्लो एक घण्टामा मात्रै १२ वटा स्ट्याटस तथा भिडियो सेयर गरिसकेका छन्। उनले यसरी आफ्नो पक्षमा माहौल बनाउने नाममा युवाहरूलाई जुधाउने काम गरेको भन्दै उनको आलोचना भइरहेको छ। 

उनले नै लेखेको स्ट्याटसमा पनि राईले अहिले नै नेतृत्व गर्न नसक्ने भन्दै आलोचना हुँदै आएको छ। राईले लेखेका स्टाटसहरुमा युवालाई खबरदारी गर्न भन्दै आएका छन्। यसले गर्दा युवाहरूको बीच विवाद सिर्जना गराउने अवस्था सिर्जना गरेको भन्दै चिन्ता व्यक्त हुन थालेको छ। उनले लेखेको एउटा स्ट्याटसमा भने यदि आफूलाई प्रधानमन्त्री नबनाए अर्को विद्रोह हुने सार्वजनिक गरेका थिए, तर त्यो स्ट्याटस भने उनले अहिले हटाइसकेका छन्। 

असफल मेयर
लामो समयदेखि धरान उपमहानगरपालिकामा बजेट निर्माण हुन सकेको छैन। असार १० गते नै बजेट ल्याउनु पर्नेमा भदौको २६ गते बितिसक्दा पनि बजेट ल्याउन नसक्ने असफल मेयर अहिले प्रधानमन्त्रीको दौडमा छन्।

भदौ २० गते शुक्रवार बसेको नगर कार्यपालिकाको बैठकले २६ गते  बजेट ल्याउने निर्णय गरेको थियो। पालिकाको विकासमा लाग्नु पर्नेमा, बजेट ल्याएर कार्यान्वयनमा लग्नु पर्नेमा उनी अहिले युवा जुधाउन काठमाडौँमा छन्। बजेट विवादका कारण धरानमा चालु आर्थिक वर्ष सुरु भए पनि अझै बजेट प्रस्तुत भएको छैन। यसले ‘बजेट होलिडे’ स्थिति सिर्जना भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad