राजनीति


५ दलका युवा संगठनले भने- संविधानभित्रबाटै निकास खोजियोस्

५ दलका युवा संगठनले भने- संविधानभित्रबाटै निकास खोजियोस्

नेपालखबर
भदौ २६, २०८२ बिहिबार १५:५८, काठमाडौँ

हालै जेन जी समूहको आह्वानमा देशभर भएको आन्दोलनका क्रममा ठूलो मानवीय क्षति पुगेको भन्दै नेपालका विभिन्न युवा संगठनहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। 

नेपाली कांग्रेसनिकट तरुण दलका अध्यक्ष विद्वान गुरुङ, नेकपा एमालेनिकट युवा संघका अध्यक्ष क्षितिज थेबे, नेकपा माओवादी केन्द्रनिकट वाईसीएलका अध्यक्ष पुष्प ओली, नेकपा एकीकृत समाजवादीनिकट युवा संघका अध्यक्ष रोशन थापा र राष्ट्रिय जनमोर्चानिकट अखिल नेपाल युवक संघका अध्यक्ष गणेश अधिकारीले संयुक्त विज्ञप्ति जारी गर्दै जेन जीले प्रस्तुत गरेका प्रमुख मागहरू भ्रष्टाचारमुक्त राष्ट्र, पारदर्शितामा आधारित शासन व्यवस्था, न्याय र जवाफदेहिताको पक्षमा आफूहरूको स्पष्ट समर्थन रहेको जनाएका छन्। 

'भ्रष्टाचारका मामिलामा प्रभावकारी अनुसन्धान र दोषीलाई कानुनी सजाय दिनुपर्छ भन्ने हाम्रो दृढ समर्थन छ' विज्ञप्तिमा भनिएको छ।

प्रधानमन्त्रीले राजीनामा दिएपछि पनि मुलुकका विभिन्न ठाउँमा तोडफोड, आगजनी, हिंसा र लुटपाटजस्ता गतिविधि भइरहेको उल्लेख गर्दै संगठनहरूले यसलाई आन्दोलनको शुद्धतामाथिको प्रहार भनेका छन्। 

उनीहरूले सुरक्षा निकायहरूको भूमिका सवालमा रहेको भन्दै यसबारे गम्भीर समीक्षा गर्नुपर्ने माग गरेका छन्। साथै टोलटोलमा सुरक्षा समितिको गठन गरी विध्वंसकारी गतिविधि रोक्न स्थानीय समुदायलाई सक्रिय हुन पनि अपिल गरिएको छ।

आगामी राजनीतिक यात्राबारे संगठनहरूले स्पष्ट गर्दै भनेका छन्,'विगतका आन्दोलन र प्रगतिशील परिवर्तनहरूको संरक्षण गर्दै मात्र निकास खोजिनुपर्छ। लोकतान्त्रिक गणतन्त्रका आधारभूत मूल्य कमजोर नबनाइने र संविधानभित्रैबाट समाधान निकालिनुपर्छ।'

संगठनहरूले मुलुकको विषम परिस्थितिमा सम्पूर्ण युवालाई संयमित, सजग रहँदै लोकतान्त्रिक गणतन्त्र, राष्ट्रियता, स्वाधीनता र सार्वभौमसत्ताको रक्षामा दृढ रहन आह्वान गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad