सर्वोच्च अदालतकी वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले सर्वोच्चको गलत व्याख्याको कारण राष्ट्रपति र उपराष्ट्रपति पदमा महिलाले भाग गुमाएको भन्ने महान्यायाधिवक्ताको टिप्पणी गलत भएको बताएकी छन्।
महिला सरकारी वकिलहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै उनले संविधान र सर्वोच्चको व्याख्याको कारण महिलाले अवसर गुमाएको भन्न नमिल्ने बताएकी हुन्।
उनले सर्वोच्चले गरेको भाषाको राम्रोसँग अध्ययन गर्न पनि सुझाव दिइन्। संविधान निर्माण प्रक्रियामा आफू पनि संलग्न रहेको उल्लेख गर्दै उनले सभामुख र उपसभामुखमा एक जना महिला भनेर लेखेजस्तै राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक जना महिला भनेर लेख्ने प्रस्ताव गरेको भए पनि सहमति जुट्न नसकेको जानकारी दिइन्।
उनले राष्ट्रपति र उपराष्ट्रपति पदमा लैंगिक नभई सामाजिक र सांस्कृति विविधता समेट्ने विषय संविधानमा उल्लेख गरेको स्पष्ट पारिन्।
उनको भनाइ थियो, ‘सर्वोच्च अदालतको व्याख्याकै कारणले राष्ट्रपति र उपराष्ट्रपतिमा महिलाले भाग गुमाइन् भन्ने कुरा गलत हो। महानायाधिवक्ताजी, तपाईंले हामीले गरेको भाषा हेर्नुपर्यो। म त संविधान लेखनमा संलग्न भएको मान्छे। हामीले त जसरी सभामुख र उपुभामुखमा एक जना महिला भनेर लेखेका छौँ, त्यसरी नै राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक जना महिला भनेर लेखौं भनेको थिएँ। होइन, फरक लिंग वा समुदायको भन्ने कुरा आयो। फरक लिंग वा समुदाय भन्नाले त्यहाँ मधेसी पनि हुन सक्छ, दलित पनि हुन सक्छ, आदिवासी पनि हुन सक्छ भन्ने कुरा आयो। पछि सर्वोच्चले व्याख्या गर्दाखेरि महिला भएर नै व्याख्या गर्दा फरक हुन्थ्यो कि?’
यसअघि महान्यायाधिवक्ता रमेश बडालले सर्वोच्च अदालतको गलत फैसलाका कारण राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा महिला अधिकार खोसिएको टिप्पणी गरेका थिए।
Shares

प्रतिक्रिया