नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानले मुलुकभर व्यापक उत्साह र आशा जगाइरहेको बताएका छन्।
आइतबार (भदौ २२) लमजुङको राइनास नगरपालिका पुगेका उनले अभियान वर्षाका कारण यसअघि केही समय स्थगन गरिएको उल्लेख गरे। अभियानमा अपेक्षाभन्दा बढी उत्साहप्रद जनसहभागिताले पार्टीप्रति मात्र नभई जनतामाझ पनि नयाँ ऊर्जा थपिएको बताए।
उनले विगतमा हुलाकी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग अभियानका क्रममा जनतासँग प्रत्यक्ष संवाद गर्दै सहिद परिवारको घरमा बसेर उनीहरूका पीडा र अनुभव सुनिएको बताए। अभियानका क्रममा नेपाली कांग्रेस वा नेकपा (एमाले)का स्थानीय जनप्रतिनिधिले समेत स्वागत र सहयोग गरेको उनको भनाइ छ।
'हामी हाम्रो वर्ग, हाम्रो विचार र जनतासँग टुटेको कडीलाई पुनः जोड्न आएका हौँ। ठूला नेताप्रति मन पर्ने/नपर्ने जे भए पनि जनप्रतिनिधिहरूले माओवादी नेतृत्वलाई देशको समस्या समाधान गर्न सक्ने शक्ति भनेर स्वीकार गरेका छन्,' उनले भने, 'यही कारण यो अभियान अब सिंगो राष्ट्रकै अभियान बनेको छ।'
Shares

प्रतिक्रिया