राजनीति


विधान महाधिवेशनका प्रतिनिधिलाई एमाले महासचिव शंकर पोखरेलले दिए यस्तो जवाफ

विधान महाधिवेशनका प्रतिनिधिलाई एमाले महासचिव शंकर पोखरेलले दिए यस्तो जवाफ

नेपालखबर
भदौ २२, २०८२ आइतबार १४:८, काठमाडौँ

सत्तारुढ नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारका कामलाई प्रभावकारी रुपमा लैजान सकेमात्र पार्टी बलियो हुने बताएका छन्।
 
ललितपुर, गोदावरीमा शुक्रबारदेखि जारी पार्टीको दोस्रो विधान महाधिवेशनमा समूहगत नेताबाट आएका सुझावको जवाफ दिने क्रममा उनले सरकारले गरेका कामलाई जनस्तरसम्म पुर्‍याउनुपर्ने बताए।

महासचिव पोखरेलले आफ्नो ठाउँ वडाबाट कार्यकर्ता र जनतालाई काममा जोड्नुपर्नेमा जोड दिए। उनले वडातहबाट काम सुरू भयो भने प्रत्यक्ष देखिनेसमेत बताए।

महासचिव पोखरेलले जुन कमिटीबाट बिदा वा प्रवेश गरेको हो त्यही कमिटीले निर्वाचनमा हारेकालाई व्यवस्थित गर्नुपर्ने बताए। उनले नेताको व्यवस्थापन सम्बन्धित तहले गर्नुपर्नेमा जोड दिए। उनले  पार्टीमा युवा र जनसंगठनलाई समुदाय र वर्ग केन्द्रित गर्नुपर्ने बताए।

महासचिव पोखरेलले प्रदेशदेखि तल्लो तहमा युवाको प्रतिनिधित्व कम रहेको बताए। ‘४० वर्षका युवा प्रदेश र जिल्ला कमिटीमा जो प्रतिनिधि बनेर आए ती सबै नेता मात्र बने, पार्टीमा ४० वर्षमुनिका युवालाई पार्टी काममा जोड्ने काम कमजोर रहेको छ। हामीले ४० वर्ष मुनिका युवालाई पार्टी काममा लगाउन भनिए पनि सुधार हुन सकेन’, उनले भने।

महासचिव पोखरेलले पार्टीले केन्द्रीय कमिटीमा महिलालाई ३३ प्रतिशत सुनिश्चित गरेपछि पार्टी सदस्यमा महिला ३३ प्रतिशत नपुगेको बताए। ‘महिलाको पार्टी सदस्यता २६ प्रतिशत मात्र रहेको छ। पाटी सदस्य विस्तार नगरिकन सक्षम नेतृत्व निर्माण हुन सक्दैन’, उनले जवाफ दिने क्रममा भने।

महासचिव पोखरेलले २०४३ सालमा स्ववियु निर्वाचनमा पार्टीले एउटा मोटरसाइकल उपलब्ध गराउँदा खुसी भएको प्रसंग उल्लेख गर्दै आजको सामाजिक अपेक्षाअनुसार नेताको जीवन सरल हुनुपर्ने बताए।

‘पार्टी नेता तथा कार्यकर्ताको जीवनशैली तडकभडक जुन बढेको छ त्यसलाई जनताले निगरानी गरिरहेका छन्’, उनले भने। उनले समूह नेताबाट आएका लिखित प्रस्तावलाई सांगठनिक प्रतिवेदनमा समेट्ने जानकारी दिए।

बन्दसत्रमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको सुझावका आधारमा आज प्रतिवेदनलाई पारित गर्ने र जवाफका क्रममा सुझाव नछुटोस् भनेर थप छलफल गरेर दस्तावेज बनाइने उनको भनाइ थियो। 

उनले राजनीतिक र सांगठनिक प्रतिवेदन सैद्धान्तिक भएकाले थप समूह नेताबाट छलफल गरेर केही हेरफेर हुनेसक्ने र पार्टी विधानमा हेरफेर नगरिकन महाधिवेशनबाट विधान संशोधन प्रस्ताव पारित गर्नुपर्ने बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad