राजनीति


यो डरले बचेको सरकार हो, कांग्रेस-एमालेभित्रका इमानदार बस्नु हुँदैन : प्रचण्ड

यो डरले बचेको सरकार हो, कांग्रेस-एमालेभित्रका इमानदार बस्नु हुँदैन : प्रचण्ड

नेपालखबर
भदौ २१, २०८२ शनिबार १६:१६, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  अहिलेको सरकार ‘दलाल र बिचौलियाको धाक र धम्की’बाट बनेको दाबी गरेका छन्।

नेपाल उद्योग व्यापार महासंघले शनिबार पोखराको लेकसाइडमा आयोजना गरेको ‘समाजवाद उन्मुख अर्थतन्त्रमा नेपाली उद्योगी-व्यवसायीको भूमिका’ कार्यक्रममा सरकार डरै डरमा बचेको समेत बताए।

‘कांग्रेस-एमालेको सरकार उनीहरूको बुद्धिले बनेको होइन, यो दलाल र बिचौलियाको धाक र धम्कीबाट बनेको हो,’ प्रचण्डले भने, ‘हिजो डरले बनेको, आज पनि डरले बचेको सरकार हो। कांग्रेस-एमालेभित्रका इमानदार साथीहरूले यस्तो सरकारमा बस्नु हुँदैन।’

उनले नेपाललाई आत्मनिर्भर र स्वाधीन अर्थतन्त्रको बाटोमा अघि बढाउन माओवादी केन्द्रले स्पष्ट कार्ययोजना अघि सारेको जानकारी गराउँदै भने, ‘हामीले १२३ वटा माओवादी नेतृत्वका पालिकामा प्रशिक्षण अभियान सञ्चालन गरेका छौं। ती पालिकाहरू कार्यक्षमता मूल्यांकनमा अगाडि छन्।’

उनले पार्टीको विचार, नीतिगत स्पष्टता र व्यावहारिक कार्यदिशाकै कारण ती पालिकामा सफल परिणाम देखिएको बताए।

माओवादी आन्दोलन मध्यम वर्गको पक्षमा खटिएको उल्लेख गर्दै प्रचण्डले भने, ‘हामी मध्यम वर्गकै प्रतिनिधि हौं। ऋण मिनाह, सहकारी सुधार र तल्लो वर्गको उत्थान हाम्रो प्राथमिकता हो।’

संविधान निर्माणको प्रक्रिया कठिन भए पनि अन्ततः संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा माओवादीको भूमिका निर्णायक रहेको प्रचण्डले उल्लेख गरे।

उनले अझै न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकामा संरचनात्मक परिवर्तन नआएको स्वीकार गर्दै भने, ‘उही नियम, उही परम्परा चलिरहेको छ। परिवर्तनको लडाइँ अझै बाँकी छ।’

पछिल्लो समयमा माओवादी घटक र इमानदार कम्युनिष्टबीच एकता र सहकार्य बढ्दै गएको प्रचण्डले बताए। ‘नपत्याउने गरी जनमत बढिरहेको छ, नसोचेका ठाउँमा पनि हामी जितिरहेका छौं,’ उनले भने, ‘जनताले बुझ्न थालेका छन्, माओवादी केन्द्र नै जनताको पक्षमा काम गर्ने शक्ति हो।’

कार्यक्रमको विशेष क्षणमा दाङ राप्ती गाउँपालिकाका अर्गानिक कृषक रामप्रसाद सुवेदीले आफ्नै फर्ममा उत्पादन गरिएको मालभोग केरा उनलाई उपहारस्वरूप प्रदान गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad