राजनीति


द प्रिन्टको दाबी- प्रधानमन्त्री ओलीको भारत भ्रमण हुने सम्भावना कम

द प्रिन्टको दाबी- प्रधानमन्त्री ओलीको भारत भ्रमण हुने सम्भावना कम

नेपालखबर
भदौ १९, २०८२ बिहिबार १३:४१, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण हुने सम्भावना कम रहेको भारतीय सञ्चारमाध्यम द प्रिन्टले उल्लेख गरेको छ। प्रधानमन्त्रीको भारत भ्रमण यही भदौ ३१ गते हुने भनिएको थियो। 

०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएर फेरि सत्तामा आए पनि उनको भारत भ्रमण हुन सकेको छैन।  
 
यसै महिना ओलीको भ्रमण हुने भन्ने समाचार सार्वजनिक भए पनि समयानुकूल नभएकाले सम्भावना न्यून भएको स्रोतलाई उद्धृत गर्दै द प्रिन्टले लेखेको छ। ओलीले यसै साता चीनको तियाजिनमा आयोजित एससीओ शिखर सम्मेलनको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छोटकरी भेट गरेका थिए।

भारत–चीनले लिपुलेक हुँदै व्यापार पुनः सुरु गर्ने तयारीमा रहेकोप्रति नेपालले हालै कडा आपत्ति जनाएको थियो। ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँगको द्विपक्षीय भेटमा पनि लिपुलेक क्षेत्र नेपालको भूभाग भएको स्पष्ट गर्दै चीनले यसलाई मान्यता दिनुपर्ने माग राखेको समाचारमा उल्लेख छ।  

नेपालको संविधान संशोधनमार्फत लिपुलेक, कालापानी र लिम्पियाधुरालाई नेपालको नक्सामा समेटिएको थियो, तर भारतले त्यसलाई अस्वीकार गर्दै आएको छ। भारतले नेपालले हालै कालापानी लिपुलेक क्षेत्र आफ्नो भएको दाबीसहित विज्ञप्ति जारी गरे पनि त्यो इतिहास र प्रमाणमा आधारित नभएको भन्दै खारेज गरेको थियो।  

यसैबीच, भारत–चीनले लिपुलेक हुँदै रोकिएको व्यापार फेरि खोल्ने समझदारी अघिल्लो महिनामात्रै गरेका छन्। कोभिड–१९ महामारी र गलवानमा दुई देशका सेनाबीच भिडयन्त भएयता नाकामा व्यापार बन्द भएको थियो।

भारतसँग परम्परागत सम्बन्ध भए पनि ओलीले सत्तामा फर्किएदेखि अझै भारतको औपचारिक भ्रमण नगरेको विषयलाई अर्थपूर्ण रूपमा हेरिएको छ। तर, ओलीले दुई पटक चीन भ्रमण गरिसकेका छन्।

ओली पछिल्लोपटक प्रधानमन्त्री भएपछि पहिलो चीन भ्रमण ०८१ मंसिर १७ गते भएको थियो। दोस्रो भ्रमण यही भदौ १४ गते गएका हुन्। 

यसअघि पनि ओलीले गत वर्ष थाइल्यान्ड र अमेरिकामा आयोजित बहुपक्षीय बैठकहरूमा मोदीसँग पनि भेट गरेका थिए। 
 
त्यस्तै द प्रिन्टले गत चैतमा राजावादीहरूको प्रदर्शनको कारण ओली दबाबमा रहेको उल्लेख गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई सत्तामा ल्याउन देशैभर प्रदर्शन भएको र उक्त प्रदर्शनमा भारतको हात रहेको भन्ने ओलीको बुझाइ रहेको पनि लेखेको छ।  

यद्यपि थाइल्यान्डमा भएको भेटघाटका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ओलीलाई नेपालमा प्रजातन्त्रप्रति भारतको सधैँ समर्थन रहने प्रतिवद्धता ओलीसँग गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad