राजनीति


एमाले विधान महाविधेशनमा २३४१ सहभागी हुने, केपी ओलीले उद्घाटन गर्ने

एमाले विधान महाविधेशनमा २३४१ सहभागी हुने, केपी ओलीले उद्घाटन गर्ने

तस्बिरः सरोज नेपाल


नेपालखबर
भदौ १८, २०८२ बुधबार १४:५५, काठमाडौँ

नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा कुल सहभागी सङ्ख्या २ हजार ३ सय ४१ रहने भएको छ।

विधान महाधिवेशनबारे जानकारी दिन बुधबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेनलमा पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीले उद्घाटन गर्ने जानकारी दिइयो।

त्यस्तै महाधिवशेनमा २ हजार २६ जना प्रतिनिधि रहने छन् भने आयोजकका हैसियतमा ३१५ जना थप गरी कुल सहभागी सङ्ख्या २ हजार ३सय ४१ रहने छ।

विधान अधिवेशनमा एमाले अध्यक्ष ओलीले भाद्र २० गते ११ बजे ललितपुरको गोदावरीस्थित सनराजइ हलमा समुद्घाटन गर्ने बताइएको छ। 

महाधिवेशनका लागि मञ्च सजावट, सचिवालयको व्यवस्थापन, स्वयंसेवकहरुको व्यवस्थापन, मेडिकल टिम, मिडिया सेन्टरको व्यवस्थापन, झाँकी प्रदर्शनको व्यवस्थापन, सातदोबाटो चोकबाट महाधिवेशन स्थलसम्म यातायातको व्यवस्था र सातदोबाटोदेखि महाधिवेशन स्थलसम्म विभिन्न पार्टी कमिटी र जनसंगठनहरुका तर्फबाट स्वागतद्वारका अतिरिक्त उपत्यकाका विभिन्न स्थानहरुमा स्वागत गेटहरु निर्माण लगायत आवश्यक सबै काम पूरा भएको बताइएको छ।

अधिवेशनमा पार्टीका तर्फबाट अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, पार्टीका उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन सम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने छन्।

त्यसै गरी केन्द्रीय अनुशासन आयोगका तर्फबाट अध्यक्ष केशव वडाल, केन्द्रीय लेखा आयोगका तर्फबाट अध्यक्ष डा. पुष्प कँडेल, केन्द्रीय निर्वाचन आयोगका तर्फबाट अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषदका अध्यक्ष अमृतकुमार बोहोराले आ-आफ्‌ना निकायको प्रतिवेदन प्रस्तुत गर्ने छन्।

महाधिवेशनमा सहभागी प्रतिनिधिहरुबीच समूहगत छलफल गर्ने व्यवस्था मिलाइएको छ। विधान महाधिवेशनले केन्द्रीय निर्वाचन आयोगको भावी नेतृत्व समेत निर्वाचित गर्नेछ। 

विधान महाधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्नका लागि ८ वटा उपसमितिहरु निर्माण गरिएको बताइएको छ। केन्द्रीय संगठन विभागका प्रमुख काशीनाथ अधिकारीको नेतृत्वमा प्रतिनिधि व्यवस्थापन तथा अद्यावधिक सूचि तयार गर्ने काम सम्पन्न भएको छ। 

केन्द्रीय सम्पर्क समन्वय कमिटी इन्चार्ज लालबाबु पण्डितको नेतृत्वमा आवास व्यवस्थापन, जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालको नेतृत्वमा स्वयंसेवक परिचालन, स्वास्थ्य विभाग प्रमुख कृष्णगोपाल श्रेष्ठको नेतृत्वमा स्वास्थ्य व्यवस्थापन, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमको नेतृत्वमा प्रचार व्यवस्थापन, मजदुर फॉट प्रमुख विनोद श्रेष्ठको नेतृत्वमा मञ्च तथा साजसज्जाको व्यवस्थापन, जनसाँस्कृतिक फाँट प्रमुख हेमराज राईको नेतृत्वमा सांस्कृतिक कार्यक्रम र झाँकी व्यवस्थापन, केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीको नेतृत्वमा खाद्य र सचिवालय व्यवस्थापन हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad