पूर्वराष्ट्रपति विद्या भण्डारीलाई पार्टी सदस्यता नदिने केन्द्रीय कमिटीको निर्णयविरुद्ध दुई उपाध्यक्षले राखेको फरक मतबारे विधान महाधिवेशनमा छलफल गर्ने कि नगर्ने भन्नेबारे सचिवालय बैठकले टुंगो लगाउने भएको छ।
नेकपा एमालेको विधान महाधिवेशनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेमा महासचिव शंकर पोखरेलले दुई उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले फरक मत राखेको बताए।
‘दुई जना उपाध्यक्ष सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले पूर्व राष्ट्रपति राजनीतिमा फर्किनु हुँदैन भन्ने निर्णयमा फरक मत राख्नु भएको छ,’ उनले भने, ‘निर्णयमाथिको फरक मतमा विधान महाधिवेशनमा छलफल गर्ने कि राष्ट्रिय महाधिवेशनमा छलफल गर्ने भन्ने कुरा सचिवालयमा टुंगो लाग्ला।’
एमालेको सचिवालय बैठक भोलि दिउँसो ३ बजे बोलाइएको छ। त्यस्तै स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले विधानबारे फरक मत राखेको भन्दै त्यसबारे भने विधान महाविधेशनमा छलफल हुनसक्ने पोखरेलले बताए। यद्यपि, त्यसबारे पनि सचिवालयले नै टुंगो लगाउने उनको भनाइ छ।
‘जहाँसम्म स्थायी कमिटी सदस्य कर्ण थापाले विधानबारे नै असहमति राख्नु भएको छ,’ पोखरेलले भने, ‘त्यो विषय चाहिँ विधान महाविधेशनमा छलफल हुन सक्ला। त्यो विषयमा कसरी छलफल गर्ने भन्ने विषय भोलि बस्ने सचिवालय बैठकले टुंगो लगाउला।’
एमालेको दोस्रो विधान महाधिवेशन भदौ गतेदेखि २०-२२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजना हुँदैछ।
Shares

प्रतिक्रिया