नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीभित्र राम्रो कुरा उठाएको भन्दै धन्यवाद दिएका छन्।
उपमहासचिव ज्ञवालीले सोमबार ‘पार्टीमा वडासमेत जिताउन नसक्ने तर कुरा ठूलठूला कुरा गर्ने पदाधिकारी’ रहेको टिप्पणी गरेका थिए।
उनले भनेका थिए, ‘देशमा ६ हजार ७४३ वडा छन्, हाम्रो कम्तीमा पनि ८० प्रतिशतभन्दा बढी वडामा बलियो जनाधार छ। हाम्रो संगठन छ। वडा कमिटीहरू छन्, प्रत्येक नेताले आफ्नो वडा जिताइदिएको भए त दिग्विजय नै हासिल गर्थ्यौँ त हामीले, तर हामी कतिपय केन्द्रीय सदस्य हौँला, कतिपय पदाधिकारी हुँला, कति जिल्लाका नेता हौँला, जसले आफ्नो वडासमेत जिताउन सक्दैनन्, कुराचाहिँ ठूलठूला गर्छन्।’
ज्ञवालीको उक्त भनाइप्रति खुसी हुँदै पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले अब पार्टीमा ‘केही राम्रो हुने’ आशा पलाएको बताएका हुन्। यस क्रममा उनले आफूले ज्ञवालीले उठाएकै कुरा उठाउँदा निरन्तर प्रहार गरिएको गुनोसोसमेत गरेका छन्।
बाँस्कोटाले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘कमरेड प्रदीप ज्ञवालीले राम्रो कुरा उठाउनुभएछ, धन्यवाद। मैले पनि यस्तै कुरा उठाएँ, तर पार्टीमा दिन हैन, लिन आएका नवगणेश र गैरवामपन्थी चरित्रका पत्कर उचालेर लगातार प्रहार गरियो। नेताले तथ्य बोलेपछि केही राम्रो होला। राजनीतिले पिरती हरेक वसन्तमा झर्ने पातसित हैन, रुखको जरासित लाउनुपर्छ।’
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले फेरि एमालेमा सक्रिय हुन पाउनुपर्छ भन्ने पक्षमा रहेका पोलिटब्युरो सदस्य बाँस्कोटाले केही समययता अध्यक्ष केपी शर्मा ओली र उनी पक्षधरका गतिविधिप्रति असन्तुष्टि प्रकट गरिरहेका छन्।
Shares

प्रतिक्रिया