राजनीति


हाम्रो मात्रै यस्तो पार्टी हो, जहाँ कार्यकर्ताले आफूले देखेको खुला रूपमा राख्ने अवसर पाउँछन् : प्रचण्ड

हाम्रो मात्रै यस्तो पार्टी हो, जहाँ कार्यकर्ताले आफूले देखेको खुला रूपमा राख्ने अवसर पाउँछन् : प्रचण्ड

नेपालखबर
भदौ १६, २०८२ सोमबार १४:१, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संगठन निर्माणका लागि आत्मसमीक्षासहित जनसम्पर्क विस्तारमा जुट्न पार्टीका नेताहरूलाई निर्देशन दिएका छन्।

सोमबार माओवादीको सुदूरपश्चिम प्रदेश समिति सचिवालयको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले पार्टीभित्र उठेका विभिन्न बहस, संगठनात्मक अवस्था र आगामी रणनीतिबारे विस्तृत धारणा राखे। 

प्रचण्डले पार्टीले पछिल्लो समय जनतामाझ फेरि विश्वास हासिल गरिरहेको भए पनि त्यसलाई संगठनमा रूपान्तरण गर्न नसकेसम्म दीर्घकालीन उपलब्धि सम्भव नहुने बताए।

‘सचिवालय र इन्चार्ज कमरेडले भौतिक रूपमा सुदूरपश्चिम आइदिन अनुरोध गर्नुभएको थियो, तर महिलाको राष्ट्रिय सम्मेलनलगायत केन्द्रीय गतिविधिका कारण म यो पटक भर्चुअलमार्फत सहभागी हुनुपर्‍यो,’ प्रचण्डले भने, ‘दसैंपछि मध्यपहाडी लोकमार्ग अभियान र केन्द्रीय बैठकहरू सकिएपछि २ दिनको समय निकालेर म सुदूरपश्चिम प्रदेशमै आएर प्रत्यक्ष संवाद गर्नेछु।’

सबै जिल्ला संयोजक र इन्चार्जहरूको रिपोर्टिङको प्रशंसा गर्दै उनले सुदूरपश्चिम प्रदेशमा हाल वैचारिक, राजनीतिक र सांगठनिक सुधारको सकारात्मक संकेत देखिएको बताए। प्रचण्डले भने, ‘अब सबै नेता-कार्यकर्ताले गाउँ-बस्तीमा पुगेर कमिटी निर्माण, विस्तार र प्रशिक्षणमा जुट्नुपर्छ।’

त्यसैगरी, उनले पार्टीभित्र आत्मसमीक्षा र आलोचना-आत्मालोचनाको संस्कृतिलाई बलियो बनाउँदै हरेकले विगतका कमजोरीहरूको गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए।

बैठकका केही सहभागीले पार्टीभित्रको अन्तरसंघर्षबारे चासो व्यक्त गरेपछि प्रचण्डले यसबारे स्पष्ट पारेका थिए। ‘हाम्रो पार्टी मात्रै यस्तो पार्टी हो जहाँ कार्यकर्ताले आफूले देखेको कुरा खुला रूपमा राख्न सक्ने अवसर पाउँछन्,’ उनको भनाइ छ, ‘पदाधिकारी बैठकदेखि स्थायी समिति बैठकसम्म खुला छलफल हुने हाम्रो संस्कार माओवादी केन्द्रमा मात्रै छ।’

सुदूरपश्चिमलाई राजनीतिक र सांगठनिक हिसाबले माओवादी केन्द्रको सम्भावनायुक्त प्रदेश बताउँदै त्यहाँका नेता तथा कार्यकर्ताहरूलाई व्यवस्थित, योजनाबद्धकेन्द्रित र परिचालित गर्ने आवश्यकता प्रचण्डले औंल्याए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad