युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सीमित स्रोत साधनका बाबजुद नेपाली खेलाडीले सफलता प्राप्त गर्दै विश्वसामु देशको झण्डा फरफराएको बताएका छन्।
राष्ट्रिय खेलुकद परिषद् (राखेप) को ६२औं वार्षिकोत्सवको अवसरमा शुक्रबार मन्त्री चौधरीले सिमित स्रोत साधनबाट नेपाली खेलाडीको सफलताले ६ दशक लामो नेपाली खेलकुद बितेको उल्लेख गरेका हुन्।
मन्त्री चौधरीले ती सफलताका लागि सबै खेलकर्मीलाई धन्यवाद दिँदै राखेपले खेलाडीका उपलब्धिहरूलाई प्रोत्साहन गर्न सम्मान गरेको उल्लेख गरे।
यस किसिमका सम्मानले खेलकर्मीलाई प्रोत्साहन मिल्ने र समग्र खेलले नै फड्को मार्ने उनको विश्वास छ।
राखेपको कभर्डहलमा भएको कार्यक्रममा मन्त्री चौधरीले खेल क्षेत्रको विकासका लागि नेपाल सरकारले खेल पूर्वाधारका लागि लगानी बढाएको दाबी गरे।
जापानमा सन् २०२६ मा हुने २०औं एशियाली खेलकुदको दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित नेपाली खेलाडीहरूले अहिले विशेष तयारीमा रहेको उनको भनाइ छ।
खेलाडीहरूलाई जतिसक्दो धेरै सेवा सुविधा दिन आफू लागिपरिरहेको भन्दै उनले वाार्षिक क्यालेन्डर नै बनाएर राखेप अगाडि बढेको बताए।
राष्ट्रिय खेलकुद विकास ऐन २०७८ लागू भएसँगै संघीयता कार्यान्वयनमा सहजता भएको उनको भनाइ छ।
एउटा मात्रै फुटबल रंगशालामा दशरथ रंगशाला भएकाले उपत्यकाभित्र अन्तर्राष्ट्रिय रंगशाला बनाउने उद्देश्यले अहिले राखेपमार्फत सूर्यविनायकमा ५० हजार क्षमताको रंगशाला निर्माणको प्रक्रिया अगाडि बढाइएको मन्त्री चौधरीले उल्लेख गरे।
भलिबलको पनि रंगशाला निर्माणको प्रक्रिया पनि अगाडि बढाइने उनको भनाइ छ।
Shares

प्रतिक्रिया