राजनीति


३ नेताका ३ दाउ : विप्लव, घनश्याम र जनार्दनले गठजोड गर्नुको कारण

३ नेताका ३ दाउ : विप्लव, घनश्याम र जनार्दनले गठजोड गर्नुको कारण

सागर न्यौपाने
भदौ ११, २०८२ बुधबार २०:८, काठमाडौँ

‘वर्तमान राजनीतिक संकट र निकास’ विषयमा बिहीबार बुटवलमा अन्तर्क्रिया कार्यक्रम हुँदैछ। सहिद, बेपत्ता स्मृति प्रतिष्ठान नेपालले आयोजना गरेको उक्त कार्यक्रममा तीन पार्टीका तीन नेता वक्ता छन्।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द, नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाल र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा। यी तीन नेता एउटै मञ्चमा सँगै देखिन लागेको पहिलोपटक होइन। पछिल्ला दुई महिनायता यसैगरी उनीहरू विभिन्न मञ्चमा सँगै देखिनुका साथै निवासमै डिनर बैठक समेत गरेका छन्। 

मंगलबार बेलुका पनि तीनै नेताबीच शर्मा निवासमा एक घण्टा बढी छलफल भएको छ।  यसले उनीहरूबीच निकटता र हिमचिम बढ्दै गएको देखाउँछ। साउन ६ यता तीनै नेताले पार्टीभित्रको आन्तरिक समस्यादेखि देशका कुरा उठाउन यस्ता मञ्चको प्रयोग गर्दै आएका छन्।

नेतृत्वविरुद्ध असन्तुष्टि पोख्ने थलो
साउन ६ गते पुष्पलाल स्मृति दिवसका सन्दर्भमा स्कुल अफ मार्क्सिजमले ‘वर्तमान राजनीति र कम्युनिस्ट आन्दोलन’ विषयक बृहत् संवाद कार्यक्रम राखेको थियो। 

माओवादीका उपमहासचिव शर्माले त्यही मञ्चबाट प्रचण्डविरुद्ध फायर खोले। उनले नेताहरूको सम्पत्ति छानबिन गर्न माग गरे। 

कम्युनिस्ट नेतामा मनमोहन अधिकारीबाहेक अन्य सबै नेताले असुली धन्दा चलाएको शर्माले बताएका थिए। प्रचण्डप्रति लक्षित गर्दै उनले पार्टीभित्र जनवाद हराएर केन्द्रीयता मात्रै बाँकी रहेको टिप्पणी गरेका थिए। 

शर्माले २०८१ साउनमै स्थायी समितिमा फरक मत राखेका थिए। त्यसको एक वर्षपछि उनले ‘हेडक्वार्टरमा बमबार्ड’ गरेको उनीनिकटहरूको भनाइ छ।

भूसाल, चन्द र शर्माको स्वभाव मिल्दैन। न त उनीहरू आबद्ध पार्टीको राजनीतिक कार्यक्रम र कार्यदिशा नै मिल्छ। 

भूसाल सैद्धान्तिक विषयमा अभिव्यक्ति दिने नेता हुन्। पछिल्ला दिन कृषिकर्ममा पार्टीलाई होमेका चन्द पनि अरु दुई नेताभन्दा फरक छन्। 

तैपनि यी तीनै नेताबीच पछिल्ला दिन निकटता बढ्नुको कारण कम्युनिस्ट पार्टीबीच एकता गराउने उनीहरूको प्रयास भएको निकटस्थ नेताहरू बताउँछन्।

‘अब कम्युनिस्ट एकता यो तहबाट गर्नुपर्छ, पुरानोबाट हुँदैन भन्ने निष्कर्षमा उहाँहरू पुग्नुभएको हो,’ शर्मानिकट एक नेताले नेपालखबरसँग भने, ‘गत साउन ६ गते औपचारिक रुपमा देखिए पनि केही समय अगाडिबाट उहाँहरूबीच छलफल सुरू भएको हो। झण्डै वर्ष दिनअगाडि जनार्दन र विप्लवबाट अघि बढेको सम्बन्ध घनश्यामसम्म विस्तार भएको हो।’ 

चन्द समाजवादी मोर्चाको संयोजक पनि छन्। पार्टीकै कार्यकारी पदमा रहेकाले उनको सहभागितामा हुने कार्यक्रमको राजनीतिक अर्थ छ। 

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता समेत रहेका स्थायी समिति सदस्य खड्गबहादुर विश्वकर्माले देशका तमाम समस्याको समाधानमा बहस मात्र भएको बताए।

मञ्च सेयर मात्र होइन तीनै नेता एकापसमा छलफल समेत गरिरहेको उनी स्वीकार गर्छन्।   

‘सहकार्य हुन पनि सक्छ। अलिकति बहस हामी गरिराखेका छौँ। बहस गर्दै जाँदा विचार, नीति, कार्यक्रममा सामीप्य बन्यो भने त्यसले मात्र सहकार्यको वातावरण बनाउँछ,’ विश्वकर्माले भने, ‘अहिले मुद्दामै केन्द्रित भएर बहस गरिराखेको हो।’ 

माओवादी केन्द्रका सचिव राम कार्की नेताहरूप्रति आममानिसको निराशा चिर्न तीन जना एकै ठाउँ उभिएको हुनसक्ने बताउँछन्। 

‘हामीभन्दा युवा पुस्ताका साथीहरूले देशको समस्याप्रति जागरूकता देखाएर विकल्प दिन सक्छौँ भनेर सन्देश दिन खोजेको हुनसक्छ,’ कार्कीले भने, ‘रवि, बालेनतिर मानिसको ध्यान गइरहेको बेला हाम्रै पार्टीभित्र हाम्रै पुस्ताका क्षमता भएका नेता छन् भन्ने सन्देश दिएका पनि हुन्।’ 

फरक पार्टी र विचार बोके पनि यो सहकार्य निचोडमा पुग्न सके त्यसले एउटा नतिजा दिने कार्कीको भनाइ छ।

‘विप्लव र जनार्दन एउटै समितिमा रहेर लामो समय  राजनीति गरेका नेता हुनुभयो। दुवै जनाको स्वभाव दुवैलाई थाहा छ। एमाले पृष्ठभूमिको भए पनि सबैसँग विचार आदानप्रदान गर्न सक्ने मान्छे घनश्याम हो। अलि वैचारिक व्यक्ति हो। त्यसमा धेरै आत्तिनुपर्ने केही छैन,’ उनले थपे, ‘संगठित गरेर लैजान सक्यो भने सबैको आकर्षण बनाउन सकिन्छ नत्र हामीलाई पनि राजनीतिमा टिक्न कठिन हुन्छ भन्ने उहाँहरूको बुझाइ छ।’

आआफ्नै दाउ
तीनै नेताका आफ्नै रणनीति पनि छन्। त्यो हो– आआफ्नो पार्टीभित्रको माहोल आफ्नो पक्षमा बनाउनु। तीनै नेता पार्टीभित्र दबाबमा छन्। 

शर्मा प्रचण्डसँगको विवादका कारण समस्यामा छन्। एकीकृत समाजवादीमा पनि खिचोला बढ्दो छ। जसका कारण भूसाल दबाबमा छन्। जनक्रान्ति गर्ने भनेर लागेका चन्दको त अबको बाटो के हुने भन्ने पनि स्पष्ट छैन। 

‘घनश्याम र विप्लवसँग गठजोड गर्दा जनार्दनले पार्टीभित्र प्रचण्डलाई दबाब दिन सकेका छन्,’ एक नेताले भने, ‘विप्लवलाई पनि यसो गर्दा प्रचण्डसँग एकता गर्ने स्पेस बन्दै गएको छ। घनश्यामलाई पनि उनकै पार्टी भित्रबाट घचेट्न खोजेको बेला यो सहकार्यले आड दिएको छ।’

अहिलेसम्म तीनै नेताले एकअर्काप्रति भरपर्दाे व्यवहार गरेका छन्। यतिसम्म कि नेताहरूसँगको भेटवार्ता र छलफल भएको विषय पनि सकभर ब्रिफिङ गर्ने गरेका छन्। 

भदौ ९ गते विप्लवलाई भेट्न प्रचण्ड हरिसिद्धि पुगे। ४० मिनेट एक्लाएक्लै वार्ता भयो। त्यसबारे चन्दले शर्मालाई जानकारी गराए।

‘मेरो छोरी, श्रीमती, छोराको मृत्यु भयो। अब मेरो को छ र! जनार्दनजीले पार्टीभित्र केके गर्न थाल्नुभएको छ, मेरै विरुद्ध लाग्नुभएको छ। अरु साथीहरू पनि घेरा हाल्ने, दबाब दिने र अवसर मात्र लुट्न चाहने हुनुभयो, तपाईं आउनुस् उपयुक्त जिम्मेवारी दिन्छु’ भनेर प्रचण्डले निकै भावुक भएर आफूलाई भनेको चन्दले शर्मालाई सुनाएका छन्।
 
प्रचण्डले यस्तो भनिराख्ने गरेकोले आफूले प्रस्तावमाथि ठोसकुरा केहीपनि नगरेको चन्दले शर्मालाई बताए।  

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य कर्णजीत बुढाथोकीले पनि प्रचण्डबाट एकताको प्रस्ताव आएको बताए।

‘प्रचण्डले छिटो एकता गरौँ भनेर प्रस्ताव गर्नुभएछ,’ बुढाथोकीले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad