राजनीति


मनीष झासँग पूर्वराष्ट्रपति भण्डारीका ५ कुरा

‘रविमाथि अन्याय भयो, म एमालेको सक्रिय राजनीतिबाट पछि हट्दिनँ’
मनीष झासँग पूर्वराष्ट्रपति भण्डारीका ५ कुरा

सागर न्यौपाने
भदौ १०, २०८२ मंगलबार १२:३६, काठमाडौँ

पछिल्लो समय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिक ‘कमब्याक’का लागि सक्रिय छिन्। तर उनको दल एमालेको वर्तमान नेतृत्वले भने यो सक्रियतालाई रुचाएको छैन। 

फलत: उनको नवीकरण भइसकेको सदस्यता नै रोक्ने गरी प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले गत साउन ६ गतेको एमाले केन्द्रीय समितिमा लगेको प्रस्ताव अनुमोदन भएको छ।

त्योसँगै विद्याले अब के गर्लिन् भन्ने चासो थियो। तर उनी अघि बढ्ने नै मनसायमा देखिइन्।

थापागाउँमा उनले खोलेको सम्पर्क कार्यालयले पनि यसको पुष्टि गरेको छ। यहीबीच, मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्तासमेत रहेका सांसद मनीष झासँग विद्याले भंगालस्थित आफ्नै निवासमा भेट गरिन्। भेटमा उनले अन्य विविध विषयमा कुरा गरे पनि मुख्य जोडचाहिँ आफ्नो राजनीतिक कमब्याकमै रहेको बताइन्। 

यतिसम्म कि आफू कुनै पनि हालतमा पछि फर्किने अवस्थामा नरहेको उनलाई उद्धृत गर्दै झाले बताए। नेता झाका अनुसार भण्डारीले ५ वटा विषयमा केन्द्रित रहेर कुरा गरिन्।

'मलाई राजनीतिमा बन्देज लगाउने कुरा राम्रो होइन, म अगाडि बढिसकेँ, कुन बाटो हिड्ने भन्ने मात्र हो, पछि फर्कने त होइन। म एमालेकै लागि काम गर्न चाहन्छु,' भण्डारीको भनाइ उदृत गर्दै झाले नेपालखबरसँग भने, 'एमाले मेरो पनि पार्टी हो। मैले ४५ वर्ष योगदान गरेको पार्टी हो। मेरो इच्छा यही पार्टीमा योगदान गर्ने छ। अगाडि बढिसकेँ, कुन बाटो हिड्छु भन्ने मात्र हो। पछि फर्कने कुरै छैन।'

उनले राष्ट्रिय स्वतन्त्र पार्टीको राजनीतिक अभ्यासबारे आफू जानकार भएको बताउँदै सभापति रवि लामिछानेलाई राज्यले दु:ख दिने काम गरिरहेको बताएको पनि झाको भनाइ छ। 

‘उहाँले नयाँ पुस्ताको राजनीतिको अभ्यास जुन भइराखेको छ, त्यसप्रति मेरो सद्भाव छ, उच्च आदर छ भनेर भन्नुभयो,’ झाले भने, ‘सहकारीको समस्या समाधान गर्नुपर्ने विषय तर, यसलाई राजनीतिक मुद्दा बनाएर रवि लामिछानेजीलाई दु:ख दिने काम भइराखेको छ, त्यसप्रति मेरो असन्तुष्टि छ र रविजीप्रति मेरो सद्भाव छ पनि भन्नुभयो।’ 

लामिछाने बुटवलको सुप्रिम सहकारीका बचतकर्ताको रकम अपचलनको मुद्दामा ललितपुरस्थित नक्खु कारागारमा छन्। उनीमाथि विभिन्न ५ सहकारीको रकम अपचलन गरेको मुद्दा छ।

समाधान छोडेर रवि लामिछानेलाई थुन्ने काम गरेकोप्रति भण्डारीले सरकारसँग गुनासो गरिन्।

'समस्या समाधानतिर जानुपर्ने तर, राज्य मुद्दा बनाएर नागरिकलाई दु:खदिनतिर गयो। दसैँ तिहार आउँदैछ मान्छेलाई पैसा खाँचो पर्छ तर, सहकारीले पैसा दिने अवस्था छैन। एकवर्षदेखि मान्छे थुन्ने मुद्दा लगाउने मात्र गर्‍यो त्यसमा पनि रविजीमाथि समान व्यवहार गरिराखेको छैन,' झाले उनलाई उदृत गर्दै भने, 'त्यही मुद्दामा कसैलाई चिया खुवाएर पठाइदिने, कसैलाई थुन्ने, कसैलाई रकम फिर्ता गरिदेऊ भनेर अवसर पनि दिने कसैलाई फिर्ता गर्छुभन्दा पनि नदिने जुन असमान कानुनी व्यवहार भइराखेको छ यो राम्रो भइराखेको छैन, त्यसले कालान्तरमा राम्रो गर्दैन।'

यही भदौ ५ गते काठमाडौँको बानेश्वरस्थित थापा गाउँमा आफ्नो सम्पर्क कार्यालय उद्घाटन गर्दै भण्डारीले मुद्दा चल्ने बित्तिकै निलम्बन हुने व्यवस्था न्यायोचित  नहुने बताएकी थिइन्। 

विभिन्न राजनीतिक दलहरूको विचार खुला बहस हुनुपर्ने भण्डारीले भनेको झा बताउँछन्। ‘यसमा खुला बहस होस् जस्तै जबजले नीजि क्षेत्रलाई कसरी हेर्छ भन्ने कुराको बहस हुनुपर्‍यो तपाईँहरूले गराउनुपर्‍यो भनेर भन्नुभयो,’ उनले थपे। 

अर्को विषयमा भण्डारीले आफू एमालेमा सक्रिय भइसकेको भए पनि पार्टीभित्रबाट रोक्न खोजेकोमा गुनासो गरेको झाले बताए। 

‘मलाई पार्टीभित्र एककिसिमले गम्भीर वातावरण बनाइएको छ, त्यसप्रति मेरो असन्तुष्टि छ। जबकि, एमालेका अध्यक्ष केपी शर्मा ओलीजीले नै बालकोटमा विद्या भण्डारी जी राजनीतिमा आउनुपर्छ, किन नआउने भनेकै हो,' भण्डारीको भनाइ उदृत गर्दै झाले थपे, ' उहाँ राजनीतिमा आउनुहुन्छ भनेर बोलेको कुरा अहिले सामाजिक सञ्जालमा देख्न सकिन्छ। तर, मलाई अहिले चाहिँ फेरि उहाँ केपीजीले नै रोक्दै हुनुहुन्छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad