नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको समयमा पार्टीले डर, लोभ र अन्योलबाट मुक्त भएर देशप्रतिको जिम्मेवारी निर्वाह गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेसले ०८४ मा आफ्नो अवस्था कस्तो होला भन्ने मानसिकता त्यागेर अगाडि बढ्न जरुरी रहेको उल्लेख गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीले हप्ता हप्तामा आलोपालो प्रधानमन्त्री बन्ने कुरा सम्झाउने गरेको उल्लेख गर्दै थापाले पद छोड्लान कि नछोड्लान भन्ने अन्योलमा बस्न नहुने जिकिर गरे।
‘यो बेलामा नेपाली कांग्रेस पार्टी केबाट मुक्त हुनुपर्छ भने २०८४ सालमा मेरो अवस्था के होला भन्ने कुराबाट मुक्त हुनुपर्छ, यसपछि प्रधानमन्त्री आलोपालो भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले जुन भन्नुहुन्छ नि त्योबाट मुक्त हुनुपर्छ,’ उनले भने, ‘उहाँले हामीलाई सम्झाउनु हुन्छ नि। उहाँले छोड्नुहोला कि नहोला भन्ने अलमलबाट हामीले मुक्त हुनुपर्छ। यो समयमा हाम्रो पार्टीले गर्नुपर्ने कर्म सबै प्रकारको लोभ र डरबाट मुक्त भएर गर्यौं भने पार्टीले आफ्नो जिम्मेवारी निर्वाह गर्छ जसरी हामीले गर्दै आएका छौं। नेपाली कांग्रेसका सबै कार्यकर्ता पनि लोभ र डरबाट बाहिर निस्कनुपर्नेछ। र नेपाली कांग्रेस पनि निस्कनुपर्नेछ।’
महामन्त्री थापाले पार्टीभित्र पठन संस्कृतिको विकास गर्नको लागि साहित्यकारहरुलाई उत्प्रेरित गर्नुपर्ने धारणा समेत राखे। गुट छोडे पनि लेखन कार्य नछोड्न उनले कार्यकर्ताहरुमा आगह समेत गरे।
Shares

प्रतिक्रिया